तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भदौ ७ गतेसम्म निषेधाज्ञा लम्बियो, थप कडाइ गरिने

तनहुँ । तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लम्ब्याएको छ । आइतबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमणको दर बढेकाले निषेधाज्ञामा थप कडाइ गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो । ‘यसअघिको बैठकबाट यही साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरेका थियौ,’ उहाँले भन्नुभयो, ‘आज बैठक बसेर भदौ ७ सम्म लम्ब्याउने निर्णय भयो ।’ थप गरिएको अवधिमा निषेधाज्ञामा कडाइ गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, कृषिजन्य विउविजन र निर्माण सामग्री बिक्री वितरण गर्ने पसलसँगै वर्कशस बिहान ५ देखि १० बजेसम्म मात्र खोल्न पाइने छ । यी बाहेकका अन्य व्यवसाय तथा होटेल, रेस्टुरेन्ट भने बिहान ११ देखि ६ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको सहायक प्रजिअ बारालले बताउनुभयो। औषधी र पेट्रोल पम्प भने २४ सै घण्टा खुल्ला रहनेछ ।

बैठकले गरेको निर्णय अनुसार बैङ्क, सहकारी, लघुवित्त, बिमा कम्पनी लगायतका वित्तीय संस्थाको सेवा प्रवाह भने नियमित जस्तै कम भिड गरेर सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

आइतबार बसेको बैठकले अबका दिनमा कोभिड सङ्क्रमितको उपचारका लागि दमौली अस्पताल र जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई अनुमति दिने निर्णय गरेको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो ।

सरकारी तथा गैरसरकारी कार्यालयहरुले सेवा पनि निरन्तर कार्यालय समयमा हुनेछ । भौतिक रुपमा उपस्थित भई हुने पठनपाठन लगायतका शैक्षिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

यदि कोही कसैले उक्त आदेशको उल्लङ्घन भएमा कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुनेछ।

के–के सञ्चालन गर्न पाइँदैन ?

सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी नाचघर, क्लब हेल्थ क्लब, सैलुन सेवा व्युटपार्लर, कस्मेटिक बिक्रीबाहेक जिमखाना, स्वीमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाटबजार, साइकल र मोटरसाइकलमा गरिने व्यापार, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद, तालिम, सेमिना, भर्चुअलबाहेक भौतिक उपस्थितिमा गरिने शिक्षण प्रशिक्षण र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रम पूर्णरुपमा बन्द गरिएको छ।

मठ, मन्दिर मस्जिद, चर्चलगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्न गराउन पाउने छन्।

सामाजिक र सांस्कृतिक कार्य विवाह, व्रतबन्धलगायतका कार्यमा १५ जनाभन्दा बढी सहभागी नहुने र सहभागीले निर्धारित मापदण्ड पूर्णरुपमा पालन गर्ने गरी पूर्वस्वीकृति लिएर मात्र सञ्चालन गर्ने गराउने व्यवस्थालाई प्रभावकारी बनाउने, निजी सवारीसाधन सञ्चालन गर्ने गराउने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button