तपाईँ सुन्दै हुनुहुन्छः

छ वर्षपछि इलाका प्रशासनबाट नागरिकता दिन सुरु, पहिलो दिन सात जनाले सेवा लिए

सिमकोट । हुम्लाको दक्षिण भेगका चार वटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले छ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आइतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् ।

सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको इलाका प्रशासन कार्यालय छ वर्षपछि आधिकारिक रूपमा कार्य सञ्चालन सुरु भएको हो । चार वटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवा सुविधा सहज रूपमा प्रदान होस् भन्ने उद्देश्यले गृह मन्त्रालयको निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुब्बा भीमबहादुर रोकायालाई दिइएको छ । नागरिकता र अन्य सिफारिस लिनका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुसी भएको चङ्खेली गाउँपालिका–४ निवासी मनिषा रावलले बताउनुभयो ।

कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताउनुभयो । स्थानीय जनतालाई घरदैलोमै छिटोछरितो र पारदर्शी ढङ्गमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको कामु शाखा अधिकृत रोकायाले बताउनुभयो । अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि इलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button