तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक विपद् : अल्पकालीन र दीर्घकालीन समाधानको खोजी हुँदै

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा आएको मनसुनजन्य विपद् (बाढी) को अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी शुरु भएको छ । 

मेलम्चीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको र नसोचेको गेग्रान थुपारिएको सन्दर्भमा विज्ञ टोलीबाट स्थलगत अध्ययन गरी दीर्घकालीन समाधानको प्रयास थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 
बाढीपछिको एक महिनाको अन्तरालमा दुई पटक स्थलगत रुपमा अध्ययन गरी फर्किएको विज्ञ टोली बाढी आउनुको चुरो कुरो खोतल्न लागि परेको छ । पछिल्लो पटक मुहान क्षेत्रमै पुगेर फर्किएको टोलीले जोखिम कायमै रहेकाले त्यसको व्यवस्थापन पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएको छ । अझै यसको यकिन कारण सार्वजनिक हुन सकेको छैन । विज्ञहरूले भने जलवायु परिवर्तनका साथै अत्यधिक वर्षातले पहिरो खसेर बनेको ड्याम फुट्दा र त्यसले दुई किनारा काट्दै जाँदा अकल्पनीय घटना हुन पुगेको अनुमान गरेको छ ।

मेलम्ची क्षेत्रका भूगोलको २० वर्षदेखि अध्ययन गर्दै आउनुभएका त्रिभुवन विश्वविद्यालयका विज्ञ प्राडा रञ्जनकुमार दाहालले वर्षापछि सानो समय मै बनेको ड्याम फुटेर बाढीको रूप लिँदा ठूलो क्षति बेहोर्नुपरेको निष्कर्ष सुनाउनुभयो । “हिउँ परेको ठाउँमा पानी परेको छ, यो एकदम चुनौतीको विषय हो, त्यसलाई पाठ सिकेर सावधानी अपनाउनुपर्ने देखिन्छ, डा दाहालले भन्नुभयो, “अब जलवायु परिवर्तनलाई विपद्सँग जोड् हेर्नुपर्छ ।” उहाँले ठूलो क्षेत्रमा गेग्य्रान भरिएकाले वर्षा हुने बित्तिकै बगेर आउने जोखिम रहेकाले मेलम्चीको समस्या ट¥यो भनेर नलिई सुरक्षाका लागि नयाँ कार्यक्रम बनाउनुपर्छ भन्नुभयो ।

कस्तो कार्यक्रम ल्याउँदा ठिक हुन्छ भन्ने सन्दर्भमा सुझाव प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “नक्साङ्कन र तथ्याङ्कको आधारमा विश्लेषण गर्नुपर्छ, माथिल्लो क्षेत्रमा युरोपियन मुलुकमा प्रयोग गरे जस्ता ठूलाठूला ड्याम बनाउन सकिन्छ, त्यो महँगो हुनसक्छ, यहाँ तार जालीमार्फत नदीको दुई किनार बान्न सकिन्छ, त्यसले नदीको फ्लो अड्काउँदै जान्छ र पानी छानेर साङ्लो बनाएर पठाउन मद्दत गर्छ ।” उहाँले त्यसका लागि भौगोलिक अवस्थाको अध्ययन गर्नुपर्ने र कहाँकहाँ के गर्ने भनेर वैज्ञानिक र इन्जिनियर बसेर योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।

स्थलगत अध्ययन गरेर फर्कनुभएका भूगर्भविद् शिवकुमार बाँसकोटाले असार १ गते भीमाथान भन्दा तल नै थोरै ठाउँमा पानी परेको वा हिमताल फुटेर बाढी आएको हुनसक्ने तर पछिल्लो बाढीपछिको स्याटलाइट तस्बिर हेर्दा भने माथिल्लो क्षेत्रबाटै बाढी आएको अनुमान गर्न सकिने बताउनुभयो । उहाँले अझै विस्तृत अध्ययन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार अहिलेको अध्ययनको आधारमा अझै विज्ञसँग छलफल गरी जोखिम रोक्ने काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस पटक भने समस्याको पहिचान गरी समाधानका उपायको खोजी गर्न श्रोत मै पुगेर चार दिन अध्ययन गरिएको बताउनुभयो । अध्ययनका क्रममा विज्ञान, प्रविधि, स्थानीय श्रोत साधनको समेत उपयोग गरिएको छ । उहाँले यसको दीर्घकालीन समाधानका लागि हिमालयन पर्वत शृङ्खलालाई भुल्न नहुनेमा जोड दिनुभयो । हिमालका ती पहाड चलायमान पहाडको रुपमा बुझ्नुपर्ने उहाँको ठम्याई छ । “जिउँदो घोडामा हामी बसिरहेका छौँ भनेर बुझ्नुपर्ने हुन्छ, यो घोडा उठेर दौडिन्छ की भन्ने लागिरहेको छ, त्यसैले जलवायु परिवर्तनको असरले हो की भन्ने महसुस गराएको छ”, पोखरेलले भन्नुभयो ।

उहाँले गएको १५० वर्षमा यति ठूलो घटना नेपालीले नभोगेको दाबी गर्दै भेमाथानमा गेग्रान भरिएर एउटा विमानस्थल जत्रै बनेको र त्यहाँ मात्रै १५ लाख ट्रक गेग्रान रहेको जानकारी दिनुभयो । “त्यसको माथि पनि त्यति नै मात्रामा छ, त्यसको छेउछाउमा त्योभन्दा बढी गेग्रान थुप्रेको छ , समग्रमा ६० लाख ट्रकभन्दा बढी गेग्रान रहेको अनुमान टोलीले गरेको छ”, उहाँले भन्नुभयो ।

केही दिनअघि प्रधानमन्त्री अध्यक्ष रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले विश्वव्यापी ज्ञान लिएर यस्ता क्षेत्रको विस्तृत अध्ययन गर्ने निर्णय गरिसकेको छ । सोही अनुसार अहिले विज्ञ टोली परिचालन गरेर त्यहाँको बाढी पहिरोको अध्ययन भइरहेको छ । चीन र भारतमा पनि यस्तै घटनालाई कसरी निराकरण भएको छ भनेर अनुभव साट्ने योजना समेत बनाइएको र त्यहाँका विज्ञसँग छलफल गर्ने पोखरेलले जानकारी दिनुभयो । 

ठुला बाँध लगाएर रोक्न सकिन्छ की वा अरू नै कुनै उपायबाट समस्या समाधान गर्न सकिन्छ भनेर अध्ययन थालिएको र वर्षा सकिएपछि नै काम थाल्ने तयारी छ । अहिले तत्काल अल्पकालीन रुपमा सम्पर्क विच्छेदलाई जोड्ने, राहत उद्धार र उचित वासस्थानको व्यवस्थापन गर्न र दीर्घकालीन रुपमा खोलाको व्यवस्थापन, पूर्वसूचना प्रणाली बनाउँदै अन्य क्षेत्रमा आएको विपद्का लागि एउटा उदाहरण बनोस् भनेर लागि परेको प्राधिकरणले जनाएको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बेलैमा संरक्षण नगरे त्यसले अझै ठूलो क्षति ल्याउने बताउनुभयो । मेलम्ची क्षेत्रको खानेपानीको संरक्षणका लागि तलैदेखि परियोजना लागू गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “पहिरो रोक्नै नसक्ने भन्ने चाहिँ छैन, राज्य गम्भीर रुपमा लाग्नुपर्छ, हेलम्बुवासी अफ्ठ्यारो स्थितिमा रहेको छ, उनीहरूलाई विपद् पर्दा आफ्नो समस्या हो भनेर काठमाडौँवासीले सोच्नुपर्‍यो, शुरुमा बस्ती व्यवस्थापन र सडक निर्माण छँदैछ, त्यसका साथै माथिबाट बग्ने प्रक्रिया रोक्नुपर्छ ।”

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले अध्ययन टोलीले प्रारम्भिक चरणमा जोखिम न्यूनीकरणको उपाय खोजी गर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । यस पटकको स्थलगत अध्ययन टोलीमा भूगर्भविद् शिवकुमार बास्कोटा र गौतमप्रसाद खनाल, ड्रोन सर्भे समूहमा विकास भुसाल, गोकुल भण्डारी र नीरज भट्ट, स्थानीय पथप्रदर्शकमा सोनाम शेर्पा सहभागी हुनुहुन्थ्यो । यसअघि भने इञ्जिनीयरसहिको टोलीले पहिलो चरणमा अध्ययन गरिसकेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button