थप कडाइ गर्दै चितवनमा १० दिन निषेधाज्ञा थपियो

चितवन । जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट जारी गरिने निषेधाज्ञालाई केही कडाइ गर्दै १० दिन निषेधाज्ञा थप गरेको छ । कोरोना सङ्क्रमणको दर र जोखिम बढेको भन्दै प्रशासनले निषेधाज्ञामा कडाइ गरेको हो । प्रशासनले आज आदेश जारी गर्दै भाद्र १० गते राति १२ बजेसम्म लम्बाउने निर्णय गरेको छ । जारी निषेधाज्ञा साउन ३२ गते १२ बजे सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेश अनुसार भाद्र १ गते मङ्गलवारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्य बाहेक नियमित सेवा प्रवाह बन्द गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराईले जनमानसबाट र सरोकारवालाको सुझाव अनुसार भिडभाड हुने यी सरकारी कार्यालय बन्द गरिएको जानकारी दिनुभयो । ‘सबैतिरबाट यी भीड हुने कार्यालय बन्द गर्नुपर्ने सुझाव आयो । ,भट्टराईले भन्नुभयो , संक्रमणदर कम नभए बीचमा आदेश संशोधन गर्न पनि सकिन्छ ।’ यी कार्यालय बाहेक अन्य कार्यालय भीड नदेखिएको र स्वास्थ्य मापदण्ड प्रयोग गरी सञ्चालन गर्न सुझाव दिइएकोले सोही अनुसार सेवा प्रयोग गर्नुपर्ने उहाँले बताउनु भयो ।
स्थानीय तह, वडा कार्यालयहरूको हकमा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्नुपर्नेछ । सार्वजनिक यातायातको हकमा जोर बिजोर प्रणाली लागु गर्दै सवारीसाधन निसंक्रमित गर्दै भौतिक दुरी कायम गर्दै सिट क्षमता भन्दा यात्रु नराख्ने, मास्क नलगाउने यात्रुलाई सवारीसाधन चढ्न निषेध गर्नुपर्ने आदेशमा उल्लेख छ । अन्य नियम जारी निषेधाज्ञाका नियम अनुसार नै सञ्चालन हुने आदेशमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्