जुम्ला–मनाङ मुस्ताङ जोड्ने सडक स्तरवृद्धिमा २० करोड बजेट

जुम्ला । जुम्लामा हुँदै मनाङ–मुस्ताङ जोड्ने जुम्ला खण्डको सडक स्तरवृद्धिका लागि २० करोड बजेट विनियोजन भएको छ । गत आवमा निर्माण गरेको सडकलाई ग्राभेल गर्ने, नाला निर्माण गर्ने, नयाँ ट्र्याक खोल्ने लगायतका विभिन्न काम हुने भएका छन् । सडक डिभिजन जुम्लाले मनाङ–मुस्ताङ जोड्ने सडकको जुम्ला खण्डमा ४४ किमी सडक निर्माण गर्नुपर्ने छ ।
जुम्लामा हुँदै मनाङ–मुस्ताङ जोड्ने सडकको निर्माण हाल सम्म १५ किलोमिटर भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीला बहादुर भण्डारीले भने,“जुम्ला खण्डमा पर्ने ४४ किमी मध्य डोल्पा सिमानादेखि जुम्ला तर्फको १० किमी जुम्लादेखि डोल्पा मनाङ मुस्ताङ तर्फ ५ किमी गरी १५ किमी सडक निर्माण भएको छ । चालु आवमा विनियोजित २० करोड बजेट उक्त १५ किमी सडकमा ग्राभेल मर्मत सम्भार तथा नयाँ ट्र्याक खोलिने छ ।”
त्यसका साथै जुम्ला हुँदै मनाङ मुस्ताङ जोड्ने सडकको ४४ किमी मध्य १५ किमी सडक निर्माण पूर्वाधार कार्यालयले पनि गरेको छ । सडक डिभिजन जुम्लाले डोल्पाको सिमाना मौरी लेक सम्म ४४ किमी सडक निर्माण गर्ने छ ।
जसले गर्दा जुम्ला डोल्पाको यात्रा सहज हुने छ । भने, त्यसपछि मौरीलेक देखि मनाङ मुस्ताङ तर्फ सडक निर्माणको काम सडक डिभिजन रुकुम चौरजारीले गर्ने छ । रुकुम चौरजारीले बागलुङ जिल्लाको सिमाक्षेत्र सम्म सडक निर्माण गर्ने भएको छ । जसका लागि चालु आवमा सङ्घीय सरकारले सडक डिभिजन रुकुम चौरजारीलाई ५ करोड विनियोजन गरेको छ ।
त्यस्तै सडक डिभिजन बागलुङले रुकुम जिल्लाले टुङ्गाएको क्षेत्रबाट सडक निर्माण गरी मनाङ मुस्ताङ जोड्ने भएको छ । बागलुङ हुँदै मनाङ मुस्ताङ सडक निर्माणका लागि बागलुङ सडक डिभिजनलाई सङ्घले १० करोड बजेट छुटाएको सडक डिभिजन जुम्लाका प्रमुख भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार तीन वटै जिल्लाका आफ्नो कार्यक्षेत्रमा धमाधम सडक निर्माण तथा स्तरवृद्धि कार्य भदौबाटै शुरु हुने भएको छन् । जुम्ला खण्डका ग्राभेल तथा सडक निर्माण र स्तरवृद्धिको कामलाई आगामी भदौबाटै तीव्र रुपमा गरिने तयारीमा जुटेको समेत प्रमुख भण्डारीको भनाई छ । बजेट पर्याप्त भए बाँकी सडक निर्माणलाई अघि बढाइने छ । जुम्ला, रुकुम र बागलुङ जिल्लालाई मनाङ मुस्ताङ सँग जोड्न ३ जिल्लामा गरी ३५ करोड बजेट विनियोजन भएको छ ।








प्रतिक्रिया राख्नुहोस्