तपाईँ सुन्दै हुनुहुन्छः

नमोबुद्धमा निर्मित दुई वटा प्रवेशद्वार उद्घाटन

काभ्रेपलान्चोक । काभ्रेको पर्यटकीय नगरी नमोबुद्धमा निर्माण गरिएका दुई वटा प्रवेशद्वारको आज उद्घाटन गरिएको छ । 

नमोबुद्ध नगरपालिका वडा नं. १ फूलबारीमा निर्माण गरिएको नमोबुद्ध नगर प्रवेशद्वारा तथा वडा नं. ११ मा निर्माण गरिएको ऐतिहासिक एवं धार्मिक स्थल नमोबुद्ध मन्दिर परिसर प्रवेश गर्ने प्रवेशद्वारा एकै दिन उद्घाटन गरिएको हो । 

नमोबुद्ध नगर प्रवेशद्वार नमोबुद्ध नगरपालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार कार्यक्रमको संयुक्त लगानीमा निर्माण गरिएको हो । उक्त प्रवेशद्वार निर्माणका लागि कुल २६ लाख २७ हजार ६ सय ६६ रुपैयाँ खर्च भएको छ ।

यस्तै नमोबुद्ध परिसर प्रवेशद्वार नमाबुद्ध नगरपालिका तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको हो । दुवै प्रवेशद्वारमा बौद्ध संस्कृति झल्कने आकृतिसमेत निर्माण गरिएको छ । 

प्रवेशद्वार उद्घाटन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्धको पहिचान तथा बौद्ध संस्कृति झल्कने गरी प्रवेशद्वार निर्माण गरिएको र यसले ऐतिहासिक क्षेत्र नमोबुद्धको पहिचानलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन थप टेवा पुग्न बताउनुभयो ।

उहाँले नमोबुद्ध क्षेत्रमै पार्क निर्माणको प्रक्रिया यसै वर्षदेखि सुरु हुने पनि बताए । ऐतिहासिक सम्पदाको संरक्षण तथा यसको प्रचार प्रसारका लागि नगरपालिका दत्तचित्त भएर लागेको तिमल्सिनाले बताउनुभयो  ।

भौतिक पूर्वाधारको विकासलाई नगरपालिकाले उच्च प्राथमिकताका साथ अघि नगरले जानकारी दिएको छ ।

धार्मिक स्थल नमोबुद्ध परिसर व्यवस्थित बनाउन, सडक लगायतका अन्य पूर्वाधारको विकास गर्न नगरपालिकाले विशेष रुपमा योजना बनाएर कार्यान्वयन गर्दै आएको छ । 

नगरपालिकाको पहलमा निर्माण भएका पूर्वाधारको सबै पक्ष मिलेर संरक्षण र संवर्द्धन गर्नुपर्ने उपप्रमुख रामदेवी तामाङले बताउनुभयो ।

नमोबुद्ध क्षेत्र प्रवेश गर्ने सडकको स्तरोन्नति गर्नुका साथै काभ्रे भन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि पहल गरिरहेको जानकारी तामाङले दिनुभयो । नमोबुद्ध क्षेत्रमा पर्यटकहरूको बसाई लम्ब्याउन होमस्टे लगायतका कार्यक्रमहरू पनि अगाडि बढाउनुपर्नेमा तामाङले जोड दिनुभयो । 

नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नमोबुद्ध मन्दिर नजिकै कोसेली घर निर्माणको कार्य केही समयमै सुरु हुने बताउनुभयो ।

संस्कृति प्रवर्द्धन, नमोबुद्ध नगरभित्रका ऐतिहासिक क्षेत्रको संरक्षण र संवर्द्धन तथा पर्यटन प्रवर्द्धनमा नगरपालिकाले जोड दिइरहेको उहाँले बताउनुभयो । नमोबुद्ध क्षेत्रमा निर्माण गरिएका प्रवेशद्वारले पर्यटन आकर्षणमा थप टेवा पुग्ने पौडेलले बताउनुभयो । 

नमोबुद्ध नगर प्रवेशद्वारले नमोबुद्ध क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्त्वका बारेमा प्रकाश पार्दै प्रवेशद्वार निर्माणले पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने समाजसेवी तथा स्थानीय युवा राकेश लामाले बताउनुभयो । उहाँले स्थानीय तह तथा अन्य सोकार निकायले नमोबुद्ध स्तुपाको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

लामाले नेपालको अन्य बौद्ध स्तुपाहरु जस्तै नमोबुद्धले पनि ६ हजार वर्ष पुरानो धार्मिक आस्था बोकेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button