प्रधानमन्त्री स्वरोजगार कार्यक्रम : २ सय २१ मिटर बाटोमा ढुङ्गा छपाई

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेका बेला काभ्रेको पनौतीमा भने उदाहरणीय काम भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनौती नगरपालिका वडा नम्बर १२, कलाँती दुम्सी डाँडामा २ सय २१ मिटर बाटोमा ढुङ्गा छापिएको छ ।
हिलोका कारण यात्रा गर्न नै कठिन हुने उक्त सडकमा सहज रुपमा सवारी साधन चल्न थालेपछि स्थानीय खुसी भएका छन् । सडक निर्माणसँगै दुम्सी डाँडाका ३५ घरपरिवार लाभान्वित भएका छन् । यसअघि सडक जीर्ण बन्दा यस क्षेत्रका मानिसहरू खाद्यान्न लगायतका सामान बोक्न बाध्य थिए । अब भने घरमा नै गाडी पुग्छ भने आफ्नै साधन हुनेहरूले पनि बीच बाटोमा छाड्नु पर्ने अवस्था हटेको छ ।

हाम्रो ठाउँको काम हामीले नै गर्नुपर्छ भन्ने भावनाले गर्दा उत्कृष्ट काम भएको स्थानीय भरत दाहालले बताउनुभयो । वर्षौँदेखि स्थानीयले भोग्दै आएको समस्यालाई चासो दिएर कार्यक्रम स्वीकृत गरेकोमा उहाँले नगरपालिका र वडा कार्यालयलाई धन्यवाद समेत दिनुभयो ।
गाउँका सबै मिलेर आफ्नै ठाउँको विकास गर्दा छुट्टै खुसी मिलेको स्थानीय गौरी हुमागााँईले बताउनुभयो । आफ्नै गाउँ ठाउँका साथीहरूसँग रमाइलो गर्दै बाटो बनाएको उहाँले बिर्सनै सक्नुभएको छैन ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वडा नम्बर १२ मा १० लाख रुपैयाँ विनियोजन भएको थियो । यसबाट दुम्सी डाँडामा सडक निर्माण गरिएको छ भने सिमपानीमा मन्दिर जाने बाटोमा सिँढी हालिएको वडा अध्यक्ष ईश्वर जङ्गमले जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आवश्यकताका आधारमा योजना तय गरिएको उप–प्रमुख गीता बन्जाराले बताउनुभयो । जनताले आवश्यकता महसुस गरेका ठाउँमा काम गरिए सफल हुने उहाँको भनाई छ ।
उहाँले नगरपालिकाभित्र सडक निर्माण, सिँढी निर्माण जस्ता कामलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै उपप्रमुख बन्जाराले नगरपालिका भित्र उदाहरणीय काम भएको समेत बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्