वीरगंज महानगरको सेवा अनलाइन मार्फत अब वडामै

वीरगंज । वीरगंज महानगरपालिकाको कार्यालयबाट प्रदान हुने सेवा सुविधालाई अब वडा कार्यालय मार्फत प्रदान गर्न आजबाट वडा कार्यालयमा अनलाइन मार्फत नगरवासीको सेवा प्रदान गर्ने कार्य शुरु गरेको छ ।
महानगरपालिकाका प्रमुख विजय सरावगीले आज एक कार्यक्रमका बीच वडा नम्बर २९ मा अनलाइन मार्फत एक सेवाग्राहीको राजस्व तिरेको रसिद काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको छ ।
महानगरवासीको कार्यालयबाट बुझाउँदै आएको घरजग्गा, मालपोत, आयकर लगायतका कर तथा राजस्व अब वडा कार्यालय मार्फत तिर्ने तथा अनलाइन रसिद काट्ने कार्यको सुरुवात गरिएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले ५० रुपैयाँ राजस्व तिर्न बेल्वाबाट वीरगंज महानगरपालिकाको कार्यालयमा सेवाग्राही पुग्दा दिनभरको समय, यातायात भाडा, नास्ता खर्च जस्ता समस्या अब भोग्नु नपर्ने र नगरवासीको सहजताका लागि महानगरले वडा वडामा राजस्व तिर्ने व्यवस्था मिलाउन लागेको बताउनु भयो ।
वीरगंज महानगरपालिका १६ वटा वडाहरू महानगरपालिकाको कार्यालय देखि टाढा रहेको र ती वडाका बासिन्दालाई आफ्नै वडाबाट सेवा सुविधा उपलब्ध गराउन महानगरपालिका सक्रिय भएको बताउनु भयो ।
उहाँले पहिलो चरणमा १० वटा वडा र त्यस पछि ३२ वटै वडामा अनलाइन सेवा मार्फत नगरवासीलाई सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।
वीरगंज महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष धर्मेन्द्र महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला, जवाहर लाल यादव, शेर महमद मियाँ, धुरुप यादव ,राजदेव महतो, दिनेश यादव, महेश मण्डल लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्