तपाईँ सुन्दै हुनुहुन्छः

भिमाद क्षेत्रभित्रका खोलामा विषादी, करेन्ट, विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्न नपाइने

तनहुँ । तनहुँको भिमाद नगरपालिका क्षेत्र भित्रका नदी र खोलाहरूमा विषादी, करेन्ट, विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने कार्य निषेध गरिएको छ ।

नगरपालिकाले यसरी माछा मार्दा वातावरणमा प्रतिकुल असर पर्ने भएकाले त्यस्ता कार्य निषेध गर्नुकासाथै जरिवाना समेत तोकेको छ ।

नगर क्षेत्रमा सेती नदी, वान्टाङखोला, जिदीखोला, मैदीखोला, क्याङदी, कुलुङ लगायतका खोलाहरू छन् ।

गैर कानुनी पदार्थ प्रयोग गरी खोलाहरूमा माछा मार्ने गरेको जनगुनासो आएकाले त्यस्ता गतिविधि गरेको पाइएमा जरिवाना समेत तोकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताउनुभयो ।

उहाँका अनुसार पहिलो पटक २ हजार ५ सय र दोहोर्‍याएर गरेमा प्रत्येक पटकको ५ हजार रुपैयाँ जरिवाना लिई सार्वजनिक अपराध ऐन एवम् प्रचलित कानुन बमोजिम कारबाही गरिने छ । सो जरिवाना नगर कार्यपालिकाको बैठकले तोकेको हो ।

गैर कानुनी तरिकाले माछा मारेको थाहा पाएमा नगरपालिका र इलाका प्रहरी कार्यालय भिमादमा खबर गरिदिन नगरपालिकाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button