तपाईँ सुन्दै हुनुहुन्छः

चौरपाटीमा करिब ७ हजार रिचार्ज पोखरी निर्माण

अछाम । विश्वभर प्राकृतिक सङ्कट, विपत्तिका तथा वातावरण विनाशका घटना भइरहँदा अछामको चौरपाटी गाउँपालिकाले वातावरणीय संरक्षणको सन्देश दिएको छ । 


स्थानीय जनसहभागिताबाट अछामको चौरपाटी गाउँपालिकाले वर्षाको पानी जम्मा हुने गरी पालिकाभरि रिचार्ज पोखरी निर्माण गरी पर्यावरणीय संरक्षणको सन्देश दिएको हो । 


वातावरण संरक्षणका लागि भन्दै गाउँपालिकाले करिब ७ हजार ५० बढी रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको हो ।
गाउँपालिकाले तीन बर्ष अघिदेखि यो अभियान सञ्चालन गर्दै आएको छ भने वातावरण संरक्षण गर्न गाउँपालिकाले अभियानको सञ्चालन गरेको हो ।


३६४ दिन आफ्नो कामको लागि उठौँ, एक दिन वातावरण संरक्षणका लागि जुटौँ भन्ने नाराका साथ रिचार्ज पोखरी बर्ष मनाउन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाले बताउनुभयो ।


पालिकाभर साना ठुला गरी ७ हजार ५० बढी रिचार्ज पोखरी निर्माण गरिएका गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिनुभयो ।


वर्षभरि आफ्नो व्यक्तिगत काम गरे पनि एक दिन वातावरण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जङ्गल, जमिन, जङ्गली जनावर र चराचुरीको संरक्षण हुने हुँदा गाउँपालिकाले रिचार्ज पोखरी अभियान सञ्चालन गरेको साउदले बताउनुभयो ।


रिचार्ज पोखरी निर्माण गरे तत्काल यसको फाइदा नदेखिए पनि बिस्तारै यसको सकारात्मक प्रभाव देखिने, पानीको मुहान माथि पोखरी निर्माण गरे खानेपानीको मुहानको संरक्षण हुने, सुख्खा डाँडामा पोखरी निर्माणले बोटबिरुवा हरियाली हुने, जङ्गली जनावरलाई खानेपानीको अभाव नहुने भएकोले पनि खेतीपातीको संरक्षणमा समेत टेवा पुग्ने अध्यक्ष साउदको भनाइ छ ।


चौरपाटी गाउँपालिकाले तीन बर्ष अघि देखि सुरुवात गरेको अभियानले साना ठुला रिचार्ज पोखरी गरी सात वटै वडामा ७ हजार ५० बढी रिचार्ज पोखरी निर्माण गरिएका छन् । गाउँपालिकाले ७ वटै वडामा रिचार्ज पोखरी वर्ष मनाएको छ ।


स्थानीयलाई खाना र खाजाको व्यवस्था गरी न्यून लगानीबाट रिचार्ज पोखरी निर्माण गरिएका हुन् । अछामको चौरपाटी गाउँपालिकाले मात्रै यो अभियान सुरु गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button