तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले नवलपुर–चौतारा सडक बन्द

सिन्धुपाल्चोक । शुक्रवार रातिको अविरल वर्षाका कारण पहिरो गई नवलपुर–चौतारा सडक बन्द भएको छ । 

इन्द्रावती गाउँपालिका वडा नं २ को बेँसीमाथि पहरो भएको ठाउँमा पहिरो गई सडक बन्द हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिनुभएको छ । 

सडकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाँंग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सडक कुना भागबाट फराकिलो बनाउन पनि पहरो भएकाले तत्काल कटान गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । 

आइतबार प्राविधिक आएर हेरेपछि तत्काल बाटो खुलाउन लागि पर्ने वडाध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।

ज्यामिरे, शिखरपुर, नवलपुर, बाँडे गाउँ तथा कुन्चोकवासीलाई सदरमुकाम चौतारा तथा राजधानी काठमाडौँ जाने सडक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । 

हाल दुई वटा यात्रुवाहक गाडीका साथै मालवाहक ढुवानीका साधन चलिरहेको उक्त सडक अवरुद्ध हुँदा खाद्य सामग्री ढुवानीमा पनि समस्या हुने देखिएकाले तत्काल बाटो खुलाउनुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button