पर्वतको फलाम खानीमा अर्गानिक चिया उत्पादन शुरु
पर्वत।पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलाम खानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलो पटक शुरु गरिएको व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झन्डै एक दशकअघि लगाइएको चिया खेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चिया खेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झन्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलाम खानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिनुभयो ।
इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । “वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ”, वडाध्यक्ष सुनारले भन्नुभयो, “ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।” विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चिया खेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो । उचित संरक्षण र रेखदेखको अभावमा चिया खेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताउनुभयो ।
साबिक फलाम खानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चिया खेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चिया खेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो ।
“दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चिया खेती शुरु गरिएको हो”, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भन्नुभयो, “स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।” एक हजार ८०० मिटरको उचाइमा रहेको साबिक फलाम खानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो । नगदे बालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झन्डै ६० रोपनी क्षेत्रफलमा चिया खेतीको शुरुआत् गरेको थियो । साबिक गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।
फलाम खानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताउनुभयो । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ । यस वर्ष स्थानीयवासी लाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीन दिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ । यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चिया खेतीको लागि आवश्यक यन्त्र उपकरण खरिद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।
पहिलो पटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताउनुभयो । फलाम खानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उहाँको भनाइ रहेको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्