तपाईँ सुन्दै हुनुहुन्छः

हेलम्बुको रातो पुलमा भदौ महिना भित्रै पुल निर्माण हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेस्थित रातो पुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।
सिंहदरबारमा मङ्गलवार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिए अनुसार शुक्रवार हेलम्बु पुगेको प्राविधिक सहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।

 विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का कार्यकारी प्रमुख अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग र नेपाली सेना सम्मिलित प्राविधिक टोलीले तत्काल स्थानीय सरकारसँग समन्वय गरी बेलिब्रिज निर्माण प्रारम्भ गर्ने निष्कर्ष निकालेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का कार्यकारी प्रमुख अनिल पोख्रेलले जानकारी दिनुभयो ।

‘प्राविधिक टोलीको सर्वेक्षण अनुसार चनौटेको रातो पुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा ४–५ मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौँ ।’ कार्यकारी प्रमुख पोख्रेलले भन्नुभयो‘उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम सुरु गर्छौँ ।’


उहाँका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको पनि सर्वे भइसकेको र सँगै निर्माण कार्य थालिने छ । प्राधिकरण, सडक विभाग र नेपाली सेनाले संयुक्त रुपमा काम गर्ने हुँदा निर्माण कार्य थालिएको १५ दिनभित्रमा उक्त पुल सम्पन्न हुने कार्यकारी प्रमुख पोख्रेलले बताउनुभयो ।

पोख्रेलका अनुसार हेलम्बुको सर्वे सकिए लगत्तै उक्त प्राविधिक टोलीले मेलम्ची र पाँचपोखरी  क्षेत्रको सर्वे गरेर आवश्यकताका र प्राथमिकताका आधारमा बेलिब्रिज तथा यान्त्रिक पुलको निर्माण कार्य अघि बढाइने छ ।
 ‘अबको ४–५ दिनमा बाटो बनाएर सामान लाने व्यवस्था मिलाउँछौँ ।’ हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भन्नुभयो ‘२–३ दिन भित्र आवश्यक प्रक्रिया पुरा गरी बाटो क्लियर गरेर सामान लाने तयारीमा छौँ ।’ पुल बगाएपछि हेलम्बुको १, २ र ३ नम्बर वडा पाँचपोखरी थाङपालको १ र २ नम्बर वडा र मेलम्ची नगरपालिकाको ७ र ८ नम्बर वडा सडक यातायातबाट पुर्णरुपमा वञ्चित रहेको अध्यक्ष शेर्पाले बताउनुभयो।

असार १ गते र साउन १६ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँच वटा पक्की पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पु–याएको थियो । 

आजबाट दुवाचौर मेलम्ची बगैँचासम्म  बस सेवा सञ्चालन हुने

आजबाट दुवाचौरबाट सेल्ले मेलम्ची बगैँचासम्म सिन्धु हेलम्बु यातायातको बस सेवा सञ्चालन हुनुभएको छ । बस बिहान ८.३० मा छुटेर दिउँसो २ बजे मेलम्ची बगैँचाबाट फर्कने मेलम्ची ७ का वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केही दिनमा सेल्लेमा बाटो मर्मत पछि बाँसखर्क जतन तथा बिचारीचौरमा मर्मत पछि पाल्चोक किउलसम्म बस सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button