तपाईँ सुन्दै हुनुहुन्छः

अमर्यादित शब्दलाई रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गर्नुभएको थियो । उहाँले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहिबार को बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएकामा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाउनुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसन ग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो ।

उहाँको भनाइपछि सभामुख सापकोटाले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।”रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button