तपाईँ सुन्दै हुनुहुन्छः

स्याफ्रुबेँसीमा पहिरोले चार घर क्षति

रसुवा । स्याफ्रुबेँसीस्थित पुरानो गाउँ बस्तीमा आज बिहान घर माथिबाट आएको पहिरोका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः३० बजे आएको पहिरोका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्ण रूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिरोको जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

विस्थापितलाई अन्यत्र सार्न गोसाईंकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल प्रहरीलगायत सुरक्षा निकाय एवं जनप्रतिनिधि जुटिरहेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

पहिरोका कारण घाइते हुनेमा सोनाम दोर्जे तामाङ र शुकदोर्जे तामाङ छन् । उहाँहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गाउँमाथिबाट आएको पहिरोले स्थानीयवासी कामी तामाङ, राजुलामा, कर्पु लामा र सन्तोष तामाङको घर पूर्णरूपमा क्षति भएको छ । क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

पहिरोले घर बस्ती क्षेत्र जोखिममा परेका र घर पूर्णरूपमा क्षति भई विस्थापित भएका २४ घरपरिवारलाई बसोबास र भोजनको व्यवस्थापन गाउँपालिकाका तर्फबाट गरिने जनाउँदै गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले व्यवस्थापकीय कार्यमा आवश्यक जनशक्ति परिचालन गराई पूर्व तयारी भइरहेको र साँझसम्म विस्थापितलाई आवश्यक पर्ने सम्पूर्ण आधारभूत व्यवस्थापन भइसक्ने बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button