जुम्ला बजारमा मास्क बैङ्क स्थापना : विपन्नलाई राहत

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गामा मास्क बैङ्कको स्थापना भएको छ । नेपाल सरकारले शुरु गरेको नेपाल मास्क अभियानलाई थप प्रभावकारी बनाउन जुम्लामा बिहीबार मास्क बैङ्कको स्थापना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बिहीबार बजारमा मास्क नलगाएर आउने महिला, बालबालिका ज्येष्ठ नागरिकलाई मास्क दिएर मास्क बैङ्कको उद्घाटन गर्नु भएको हो । मास्क वितरणकै क्रममा कोरोना सङ्क्रमणबाट बच्न तथा धुलो धुवा र प्रदूषणबाट जोगिनका लागि पनि मास्क अनिवार्य लगाउनु पर्ने भन्दै सम्झाउनुभयो ।
त्यसका साथै गणपति रविन थापा, सशस्त्र बलका एसपी गगन श्रेष्ठ, नेपाल प्रहरीका डिएसपी दान बहादुर थापाले स्थानीयलाई मास्क वितरण गरेका छन् । हुनेले दिएर जानुहोस् र नहुनेले लिएर जानु भन्ने नाराका साथ जुम्ला बजारको केन्द्र बाल मन्दिर नजिक मास्क बैक स्थापना गरी शुरु गरिएको छ ।

जुम्लाको जिल्ला कोभिड व्यवस्थापन समितिले स्थानीय प्रशासन, सुरक्षा निकाय र जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सहित सरोकारवालाहरूको समन्वयमा मास्क बैङ्क स्थापना गरिएको हो । कसैको मास्क नभएको समयमा मास्क दिँदै मास्क लगाउने र मास्क भएकाले मास्क दिएर अरूलाई सघाउने हिसाबले मास्क बैङ्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले जानकारी दिनुभयो ।
प्रजिअ प्रसाईँका अनुसार अव बजारमा आउने सबैको मुखमा मास्क हुनुपर्छ । सबै सरकारी तथा गैर सरकारी कार्यालयमा पनि मास्क अनिवार्य गरिने छ । मास्क बैङ्कलाई निरन्तरता दिन तथा स्थानीयलाई राहत दिनका लागि मास्कदाताहरूलाई सहयोग गर्न समेत अपिल गरिएको छ ।
धेरैजसोले मास्क भएर पनि मास्क प्रयोग नगर्ने तर कोहीको मास्क किन्ने आर्थिक अवस्था समेत नभएको हुँदा यो अभियान महत्त्वपूर्ण रहेको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताउनुभयो । उहाँले जिल्लाका सबै स्थानीय तह तथा बजार क्षेत्रमा मास्क बैङ्क गर्न आवश्यक रहेको बताउनुभयो ।
मास्क बैङ्क भने सशस्त्र प्रहरीका निगरानीमा हुनेछ । सशस्त्र प्रहरीले मुख्य बजार क्षेत्रमा मास्क नभएकालाई ड्युटी नै दिएर मास्क खुला स्थानमा मास्क बैङ्कको व्यवस्थापनमा खटिएको छ । सशस्त्र प्रहरी गणका गणपति गगन श्रेष्ठले मास्क बैङ्क स्थापनाको पहिलो दिनमै मास्क दिने भन्दा लिने क्रम बढेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्