तपाईँ सुन्दै हुनुहुन्छः

अर्घाखाँची कारागारका ६० जनामा एकै पटक कोरोना संक्रमण

अर्घाखाँची । अर्घाखाँची जिल्ला कारागारमा एकै पटक ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको संयुक्त टोलीले गरेको परीक्षणमा कारागारका ६४ जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । 

अर्घाखाँची जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ९५ पुगेको छ ।  कोरोना सङ्क्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ । श्रावण १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी छ । कारागारमा रहेका ६० जना (९३.७५ प्रतिशत) कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो ।

कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएकाले समस्या निम्तिएको हो । २५ जना कैदीको क्षमता रहेको कारागारमा दोब्बर बढी कैदीबन्दी कोचाकोच भएर बस्न बाध्य छन् । विसं. २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा क्षतिग्रस्त भएको थियो । टालटुल पारेर २०७१ सालदेखि यहाँ कैदीबन्दी राख्न सुरु गरिएको हो । बजेटको व्यवस्था भए कम्पाउन्ड मर्मत गरेर नयाँ भवनमा कैदी सार्न सकिने भएपनी त्यहाँ कसैको नजर पुग्न सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button