तपाईँ सुन्दै हुनुहुन्छः

झुटो विवरण पेश गरेर नागरिकता लिने पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोताङमा झुटो विवरण पेश गरेर सिन्धुलीका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको छ ।

२०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ गाउँपालिका–४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाइ भन्ने सनाखत गरी झुटो विवरण पेश गरेको खुल्न आएको हो ।

स्रोतका अनुसार गत साउन २० मा सोताङ गाउँपालिका–४ मा जन्म दर्ता गराएका थिए । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रामकुमार राईले झुटो विवरणको आधारमा सिफारिस गरेको खुलासा भएको छ । वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिनुभएको थियो ।

झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने र दिलाउन दाइको भूमिका निर्वाह गरेका शुक्र तामाङलाई प्रहरीले साउन २५ मा नै पक्राउ गरेको छ । नागरिकता प्राप्तिका लागि साक्षी बस्ने सोताङ–४ का सुदिप राई, टिकाराम राई र सूर्यबहादुर राईलाई समेत पक्राउ गरिएको छ ।

उनीहरूमाथि अनुसन्धान भइरहेको जनाइएको छ । नागरिकताका लागि झुटो विवरण सिफारिस गर्ने वडाध्यक्ष र वडा सचिवलाई पनि जिल्ला डाकिएको प्रशासन स्रोतले जनाएको छ । सिन्धुलीका व्यक्तिलाई नागरिकता दिलाउने घटनामा जनप्रतिनिधि र कर्मचारी आर्थिक प्रलोभनमा परेको स्थानीयले आशङ्का गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button