जुम्लामा भालु आतङ्क : ३ जना गम्भीर घाइते, भालुलाई गोली हानेर मारियो

जुम्ला । जुम्लामा भालुको आक्रमणबाट ३ जना व्यक्ति गम्भीर घाइते भएका छन् । बिहीबार बिहान जुम्ला सदरमुकाम खलङ्गा पसेको भालुले ३ जना स्थानीय व्यक्तिलाई आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहीबार बिहान ४ बजे धारामा नुहाउने गएका दैलेख स्थायी घर भई जुम्लामा मोबाइल पसल सञ्चालन गरिरहेका हिमराज रोकाया र उनकी पत्नी निर्मला रोकाया (थापा ) लाई आक्रमण गरी घाइते बनाएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान ५ बजे एक दम्पतीलाई आक्रमण गरी चन्दननाथ नगरपालिका ४ सिंगाचौर गाउँ स्थित आशिष् सार्कीको गोठमा पसेको सूचना पाइयो ।
गोठमा रहेको बेला २५ वर्षीय आशिष् सार्की के भनी भनेर हेर्न जाँदा भालुले सिधै आक्रमण गरी उहाँलाई पनि गम्भीर घाइते बनाएको छ । भालुलाई सदरमुकाम भरी खोजिरहेका सुरक्षाकर्मीलाई वडा नंं ४ को गोठभित्र पसेको सूचना आएपछि सबै सुरक्षाकर्मी त्यहाँ पुगेर सकुशल उद्धार गर्ने प्रयास गरेका थिए ।
ढोकामा जाल लगाएर अश्रुग्याँस प्रयोग गर्दा पनि भालु भित्रबाट नआएपछि अन्ततः सुरक्षाकर्मीले घरको माथिल्लो तला प्वाल पारेर गोरी हानी मारेर गाडिएको प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले बताउनुभयो । उहाँका अनुसार सकुशल उद्धार गर्न अथक प्रयास गर्दा सम्भव नभएपछि सबैको जीवन रक्षाका लागि गोली हानेर नियन्त्रणमा लिइएको हो ।
बिहीबार नै भालुलाई डिभिजन वन कार्यालयको चौरमा ८ फिट खाल्डो खनेर पुरिएको छ । जिससका उपप्रमुख सिडिओ, डिएसपी,गणपति, सशस्त्रका एसपी र नेपाल पत्रकार महासङ्घका अध्यक्षको रोहबरमा भालुलाई गाडिएको हो ।
भालुको जम्मा तौल २ क्वीइन्टल, लम्बाई ५ फिट, चौडाइ ३ फिट गोलाई ४ फिट रहेको डिभिजन वन कार्यालयका प्रमुख दिनेशजंग खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सकुशल उद्धार गर्ने अथक प्रयास असफल भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा (१०) को (ख) बमोजिम प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले गोली हानेर भालु मार्ने आदेश दिनु भएको हो । हाल जुम्लामा ४ वटा भालुलाई गोली हानेर नियन्त्रणमा लिई गाडिएको छ ।
साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायहरूले घाइते तीन जनालाई भेटेका छन् । तत्काल प्रतिव्यक्ति १० हजार राहत उपलब्ध गराउने भएको छ । भालु नियन्त्रणमा लिँदा आशिष् सार्कीको घर भत्काउनु परेको र घरको पुर्न निर्माणका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँको भनाई छ ।
उहाँका अनुसार घाइते आशिष् सार्की, हिमराज रोकाया र निर्मला रोकायाको उपचारमा थप पहल गरिने छ । यति बेला जङ्गलबाट भालु गाउँघर तथा बजारमा आउन सक्ने सम्भावना भएकाले सचेत रहन प्रहरीले अनुरोध गरेको छ । जङ्गलमा बिहानको समयमा एक्लै नहिँड्न समेत आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्