तपाईँ सुन्दै हुनुहुन्छः

नगरकोट जाने बाटो तत्काल निर्माण सम्पन्न गर्न प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र

भक्तपुर । युवा सङ्घ नेपाल भक्तपुर जिल्ला कमिटीले कमलबिनायक देखि नगरकोट जाने बाटो तत्काल मर्मत गरी जनजीवन सहजीकरण गराउन प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।

उक्त सडक विगत सात बर्ष देखि अलपत्र भई जनजीवनमा प्रत्यक्ष असर पारेको हुँदा उक्त बाटो निर्माणको लागि भक्तपुर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयलाई आज ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा गत २०७१ साल जेठबाट निर्माणको थालनी भए पनि निर्माण कम्पनीको लापरबाही र गैर जिम्मेवारीका कारण पटक पटक गरी ६ पटकसम्म म्याद थप गरी कार्य सम्पन्न गर्दा पनि आयोजन पुरा नहुनु दुखद भएको संघका जिल्ला अध्यक्ष रञ्जन मोहन सैंजुद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

शैलुङ्ग कन्स्ट्रक्सन र ए आई पी एल जे भी ले निर्माणको जिम्मा लिएको १६ किलोमिटर सडक समयमा पुरा नहुँदा नगरकोटवासी र पर्यटकले दुख कष्ट पाएको र जोखिमपूर्ण यात्रा गर्नु परेको युवा संघका केन्द्रीय नेता दीपक थापाले बताउनुभयो ।

ज्ञापन पत्र संघका जिल्ला अध्यक्ष सैंजुले सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रेषित गरिएको हो ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रजिअ मुकेश कुमार केशरीले युवाहरूले विकासका काममा चासो राख्नु उत्साहप्रद भएको भन्दै पत्र गृह मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालयमा प्रक्रिया अनुसार पठाइने बताउनुभयो । उहाँले प्रशासन कार्यालय जिल्लाका विकासको समन्वय गर्ने निकाय समेत भएकोले जिल्लाबाट सडकको शीघ्र निर्माणमा गर्न सकिने पहल गर्ने बताउनुभयो ।

सडक निर्माणमा भएको ढिलाइका कारण धुलो, धुवाँ र हिलोले स्थानीय बासिन्दामा जटिल रोगहरू देखा परेको केन्द्रीय नेता थापाले बताउनुभयो ।

स्थानीय बासिन्दाले निर्माण कम्पनी परिवर्तन गरेर छिटो योजना सम्पन्न गर्न नेपाल सरकार लगायत सरोकारवालालाई दबाब सृजना गर्न गराउन सङ्घर्ष समिति निर्माण गरी ध्यानाकर्षण गराएका र आन्दोलन गर्दै आएका छन् ।

सङ्घले यस सडक छिटो भन्दा छिटो तोकिएको गुणस्तर, लागत र समयावधिभित्र सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालय, सडक विभाग र मातहत कार्यालय र निकायलाई समेत आवश्यक पहल कदम तथा अनुगमन गर्नका लागि सङ्घले जोडदार माग गरेको छ ।

काम ढिला गरिँदा लागत रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । 

शैलुङ कन्स्ट्रक्सन प्रालिले कालोपत्रे गर्ने बेलामा लकडाउन भएको र पछि खुकुलो हुँदा वर्षा शुरु भएकाले काममा ढिलाइ भएको र अब बाँकी अवरोध पन्छाएर शीघ्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button