तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा जनसङ्ख्याको अनुपातमा खोपको आपूर्ति गर्न मुख्यमन्त्री राउतको आग्रह

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नंं २ मा कोरोनाको सङ्क्रमणको जोखिम उच्च भएकाले जनसङ्ख्याको अनुपातमा कोरोना विरुद्धको खोप आपूर्तिका लागि आग्रह गर्नु भएको छ । 

मुख्यमन्त्री राउतले कोभिड–१९ सङ्क्रमणको व्यवस्थापन गर्नका लागि गठन भएको केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरको निर्देशन समितिको संयुक्त बैठकलाई आज जनकपुरधाममा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । 

उहाँले प्रदेश नंं २ मा जनघनत्व अत्यधिक भएको, स्वास्थ्यका संरचना एवं सुविधा कमजोर रहेको र खुल्ला सिमाना भएका कारणले कोरोनाको तेस्रो लहर आउने जोखिम कायमै रहेकाले जनताको जीवन रक्षाका लागि खोपको आपूर्ति तथा जनचेतना फैलाउने कार्यमा तीनै तहका सरकारका बीचमा अधिकतम सहकार्य गर्न जरुरी रहेको बताउनुभयो । 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले जनताको जीवन रक्षा गर्नका लागि कुनै प्रकारको कसर बाँकी नराख्ने बताउँदै विगतमा कोरोना फैलिदा केन्द्रबाट भएको कमी कमजोरी अनुभवी तथा योग्य व्यक्तिको रुपमा रहनु भएको बालानन्द शर्मा नेतृत्वमा बनेको निर्देशन समितिबाट अब भेदभाव नहुने आशा व्यक्त गर्नुभयो । 

उहाँले प्रदेश सरकारको कोरोनाको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको बताउँदै अहिले ८ वटै जिल्लाहरूमा पिसिआर ल्याव जडान गरेर परीक्षण तथा उपचारको लागि अस्पतालको निर्माणमा जोड दिएको बताउनुभयो । 

केन्द्रीय निर्देशन समितिका कार्यकारी निर्देशक बालानन्द शर्माले कोरोनाको नियन्त्रण गर्दै जनताको जनजीवन तथा आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नका लागि स्मार्ट  लकडाउनको नीति सरकारले बनाएको बताउनुभयो । 

उहाँले कोरोनाको चार वटा चरण गरेर स्मार्ट लक डाउनको दायरामा आफै आउने व्यवस्था रहेको र स्मार्ट लकडाउन नेपालले आफ्नै अनुभवको आधारमा बनाएको बताउनुभयो । 

कार्यक्रममा प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले प्रदेश नंं २ मा हालसम्म १२ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप प्रदान गरेको, असोजसम्ममा ३३ प्रतिशत तथा चैत्रसम्ममा शत प्रतिशत जनतामा खोप लगाउने पक्षमा सरकार रहेकाले कोरोना विरुद्धको खोप आपूर्तिमा तीव्रताका दिनका लागि आग्रह गर्नुभयो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धनुषामा कोरोनाको नियन्त्रणका लागि गरेको प्रयास, अक्सिजन उत्पादन गर्ने कारखाना तथा निजी क्षेत्रका अस्पतालहरूसँग गरेको सहकार्यका कारणले अहिले नियन्त्रणको अवस्थामा रहे पनि जोखिम यथावत् रहेको बताउनुभयो । 

बैठकमा केन्द्रीय निर्देशन समितिका पदाधिकारीहरू, प्रदेशका पदाधिकारीहरू, पालिकाका पदाधिकारीहरू, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरू, प्रादेशिक अस्पताल, प्रादेशिक प्रयोगशालाका प्रमुख एवं पदाधिकारीहरू, प्रदेश नंं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका व्यक्तिहरू उपस्थित रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button