तपाईँ सुन्दै हुनुहुन्छः

१२ बुँदे डडेलधुरा घोषणा पत्र जारी गर्दै बार काउन्सिलको कार्यक्रम सम्पन्न

डडेलधुरा । सक्षम मर्यादित र व्यवसायी कानुन व्यवसायी निर्माणका निमित्त नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० अन्तर्गत गठित नेपाल बार काउन्सिलको २८औँ स्थापना दिवस डडेलधुरामा भव्य रुपमा मनाइएको छ । 

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा क्रियाशील अधिकांश कानुन व्यवसायीहरू तथा सरोकारवालाहरू सहभागी सो कार्यक्रम पश्चात् नेपाल बार काउन्सिलको प्रदेशस्तरीय संरचना गठन गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने गराउने लगायत १२ बुँदे डडेलधुरा घोषणा पत्र जारी गरी सम्पन्न भएको छ  । 

घोषणा पत्रमा सुदूरपश्चिमको कानुनी इतिहास लेखनका लागि प्रदेशस्तरीय समिति गठन गरिएको छ । 

कानुनी विषय सन्दर्भको वार्षिक बुलेटिन प्रकाशित गर्न अधिवक्ता डा. केदारचन्द्र भट्ट, अधिवक्ता विष्णुदत्त भट्ट, उद्ववराज भट्ट, कृष्णबहादुर ऐर र सु.प. कानुन समाज सदस्य रहने गरी पाँच सदस्यीय समिति गठन गरी जिम्मेवारी  दिने  र हरेक परिषद् दिवसमा सो को विमोचन गर्ने गराउने घोषणा पत्रमा जनाइएको छ । 

डडेलधुराका बासिन्दा स्व.प्रधान न्यायाधीश रत्नबहादुर विष्ट र कञ्चनपुरमा क्रियाशील स्व. वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको जीवनी योगदान र दर्शन सम्बन्धमा अध्ययन गरेर प्रतिवेदन तयार गरिने घोषणा पत्रमा जनाइएको छ । 

कानुन व्यवसायीहरूको आचारसंहिता पूर्णरुपमा पालना गर्न र कार्यान्वयन गर्ने आवश्यक भएको हुँदा सोको अनुगमन गर्न बार काउन्सिलका प्रदेश पार्षद् प्रकाश पाण्डेयको संयोजकत्वमा हरेक वार युनिटका अध्यक्ष सदस्य रहने गरी प्रदेशस्तरीय अनुगमन समितिको गठन गर्न नेपाल बार काउन्सिललाई आग्रह गर्ने घोषणा पत्रमा भनिएको छ । 

उच्च अदालतले बार बेन्चको बैठक गर्दा आफ्नो क्षेत्राधिकार भित्र रहेका बार हिकाइहरूका अध्यक्ष तथा सचिवलाई अनिवार्य रुपमा आमन्त्रण गर्न आग्रह गरिने घोषणा पत्रमा उल्लेख छ । 

नेपाल बार एसोसिएसनको पुनर्संरचना गरी प्रदेशस्तरीय बार एकाइ वा उच्च अदालतको बार गठन गर्दा सबै बार एकाइको प्रतिनिधित्व हुने गरी गठन गर्न नेपाल बार एशोसिएशनलाई आग्रह गर्ने, कानुन ब्यवसायीहरुको क्षमता र कार्य क्षेत्रको विकासका लागि रणनीतिक योजनाका आधारमा प्रदेशस्तरीय रणनीतिक योजना तर्जुमा गरी अगाडी बढाउने घोषणा पत्रमा जनाइएको छ । 

उच्च अदालत दिपायलका मुख्य न्यायाधीश तेजबहादुर कार्कीको प्रमुख आतिथ्ययता र नेपाल बार काउन्सिलका पार्षद् अधिवक्ता प्रकाश पाण्डेयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको समेत सहभागिता रहेको डडेलधुरा जिल्ला अदालत बार इकाईका अध्यक्ष अधिवक्ता लालबहादुर जाग्रीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button