अन्तर्राष्ट्रिय युवा दिवस : युवाका मुद्दा कार्यान्वयनमा समस्या

काठमाडौँ । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ दिवस मनाइन थालिएको छ ।
सरोकारवालाले बर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् ।
मुलुकमा कुल जनसङ्ख्याका ४०.३ प्रतिशत युवा भए पनि सरकारले पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माण लागि सरकारले युवाका क्षेत्रमा काम गर्नका लागि २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।
यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले पनि युवा लक्षित धेरै कार्यक्रम सरकारले ल्याएपनि युवाको क्षमता विकासमा प्रभावकारी रुपमा काम गर्न नसकिएको बताउनुभयो ।
उहाँले युवा क्षेत्रमा धेरै नीति र संरचना बने पनि युवाको मानसिक क्षमतामा प्रभावकारी रुपमा काम गर्नका लागि राज्यले अझै नसकेको बताउनुभयो । “सडक, बाटो निर्माण जस्तै युवाको क्षमताका विकास गर्न जरुरी रहेको छ” उहाँले भन्नुभयो, “तर सरकारले युवाको क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेकोले युवाको क्षमता विकास भएको छैन ।”
युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विक्रम संवत् २०६५ सालमा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।
परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलले नेपाली युवामा क्षमता भए पनि सरकारले उनीहरूको क्षमतालाई प्रस्फुटन गराउन नसक्दा धेरै नै क्षति व्यहोर्नु परेको बताउनुभयो । उहाँले युवा वैज्ञानिक, अनुसन्धान, नवप्रवर्तन जस्ता क्षेत्रमा सरकारको ध्यान पुग्न नसकेको समेत बताउनुभयो । उहाँका क्षेत्रमा काम गर्नका लागि अलग्गै राष्ट्रिय गौरवको आयोजना स्थापना गर्नमा जोड दिनुभयो ।
दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले एक हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत बनेका नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा युवा पलायन बढेको बताउनुभयो । उहाँले मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा र रोजगारीलाई कार्यान्वयन गराई युवाका मुद्दा सम्बोधन गर्नुपर्ने बताउनुभयो । “युवाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता पनि युवाका मुद्दा कार्यान्वयन गराउन तर्फ लागेको देखिएन” उहाँले भन्नुभयो, “युवाका क्षेत्रमा काम गर्ने राज्यका संरचनाले पनि युवाका मुद्दालाई सम्बोधन गर्न गम्भीर ढङ्गले काम गरेनन् ।” उहाँले युवालाई मुलुकमा नै रोजगारीतर्फ उन्मुख गराउनका लागि कलकारखाना, उद्यमशीलतामा अग्रसर गराउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले कानूनत रुपमा युवाका मुद्दा समेतका लागि धेरै नीति, कानून बने पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो । उहाँले सरकारले युवा लक्षित कार्यक्रम ल्याएपनि ती कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसुकेको बताउनुभयो । “शिक्षा, स्वास्थ्य र रोजगारीका धेरै युवा लक्षित कार्यक्रम धेरै सरकारले ल्याएको छ” उहाँले भन्नुभयो,“तर ती कार्यक्रम कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको त्यही रहेको छ ।” उहाँले युवालाई कृषितर्फ आकर्षण गराएर मुलुकलाई कृषिमा आत्मनिर्भर गराउनुपर्ने बताउनुभयो ।
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का अध्यक्ष रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताउनुभयो । उहाँले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताउनुभयो । “नीति र संरचनागत रूपमा युवाका मुद्दा सम्बोधन गर्नका लागि धेरै कार्यक्रम ल्याइएका छन्” उहाँले भन्नुभयो, “तर ती युवाका मुद्दालाई व्यवहारमा उतार्ने ती कार्यक्रम सफल भएका छैनन् ।”
एकद्धार प्रणाली अभाव
परिषद्का उपाध्यक्ष ढुङ्गेलले अहिले युवाका क्षेत्रमा काम गर्ने निकायबीच समन्वय अभाव हुँदा पनि युवाका कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार विभिन्न ११ वटा मन्त्रालय र १८ विभागले युवाका क्षेत्रमा काम गरे पनि प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्धार प्रणाली अन्तर्गत परिषद्बाट गरौँ भनेर पटक पटक सरकारले ध्यानाकर्षण गरायौ” उहाँले भन्नुभयो, “तर ती कार्यक्रम एकिकृत गर्न नसकेर प्रभावकारी हुन नसकेको छैन ।”
उहाँका अनुसार सरकारी तवरबाट सङ्घ, प्रदेश र स्थानीय तह गरी करिब दुई खर्बको बजेट विनियोजन हुने गरेको छ । उहाँले राजनीति नेताको रोजाई पनि युवा तथा खेलकुद मन्त्रालय प्राथमिकता नपर्ने भएकोले युवाका मुद्दामा सरकारको चासो कम गएको भन्ने बुझ्न सकिने बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्