तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञान पढ्ने धोको पुरा गर्दै जनज्योति

तनहुँ ।  भिमाद नगरपालिकामा रहेको जनज्योति माध्यामिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञान सङ्काय अध्ययनलाई समेट्न थालेको छ । 

विज्ञान विषय अध्ययनका लागि अन्य सहरहरूमा जानुपर्ने भिमाद र आसपासका विद्यार्थीको बाध्यतालाई न्यूनीकरण गर्न विद्यालयले विज्ञान संकायको अध्यापन सुरु गरेको हो ।

गत वर्षबाट नै अध्यापन सुरु गरेको यो सङ्कायमा विद्यार्थीहरूको आकर्षण बढ्न थालेको प्रधानाध्यापक केशरबहादुर खड्काले जानकारी दिनुभयो । 

प्रधानाध्यापक खड्काका अनुसार विज्ञान विषय अध्ययन गर्न पोखरा, काठमाडौँ लगायतका सहरमा पुग्ने विद्यार्थीहरूलाई सहज भएको छ । ‘नवलपरासी र पाल्पाका विद्यार्थीहरू पनि आएका छन्’ खड्काले भन्नुभयो, ‘अझै प्रचार गर्न सकेका छैनौँ ।’ 

उहाँले आफ्नो पायक पर्ने स्थानमा रोजेको विषय अध्ययन गर्न पाउने स्थिति निर्माण हुँदा विद्यार्थी र अभिभावकहरूबाट राम्रो प्रतिक्रिया आउन थालेको बताउनुभयो ।

यस अघि अन्य विषयको अध्यापन हुँदै आएता पनि विज्ञान अध्ययन गर्न चाहने विद्यार्थी अन्यत्र जानुपर्दा आर्थिक भार खेप्नुपर्ने स्थिति रहेको थियो । आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरू भने अध्ययनकै लागि अन्य स्थानमा जान नसक्दा यो विषय अध्ययन गर्ने इच्छा टार्नुपर्ने अवस्था टरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष काजिमान श्रेष्ठले बताउनुभयो ।

‘आफ्नै घरमा बसेर चाहेका विषय पढ्न पाइने भयो’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अन्य स्थानमा गएकाहरू समेत फर्कन थालेका छन् ।’ 

उहाँले विद्यालयको निर्णयसँगै आफ्ना सन्तानलाई पायक पर्ने स्थानमा पढाउन पाउँदा अभिभावकहरूले सकारात्मक प्रतिक्रिया दिन थालेको बताउनुभयो ।

विज्ञान अध्ययन गर्न पाउँदा व्यवस्था बदलिएपछि सहरका सुविधा गाउँमै भित्रिन थालेको अनुभूति भएको विज्ञान विषयकी विद्यार्थी अर्चना गैरेले बताउनुभयो । 

‘कोभिडको विषम परिस्थिति र टाढा बसेर अध्ययन गर्दा झन्झटिलो हुने भएकोले विज्ञान पढ्ने सपना अधुरो हुन सक्थ्यो गाउँमै विज्ञान पढ्न पाउँदा सहज भएको छ’ अर्चनाले भन्नुभयो ‘विज्ञान विषय नभएको भए धेरै विद्यार्थीले अन्य विषय लिएर पढ्नु पर्ने बाध्यता हुने थियो ।’

भिमाद बजारमा रहेको यस विद्यालयमा अध्ययन गर्नका लागि भिमाद नगरपालिकाको ग्रामीण र सहर क्षेत्र, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिका, घिरिङ गाउँपालिकासँगै नवलपरासी, र पाल्पा जिल्लाका विद्यार्थीहरू अध्ययनका लागि आउने गर्दछन् ।

विज्ञान, व्यवस्थापन र शिक्षा सङ्कायमा अध्यापन हुने यस विद्यालयमा अहिले करिब एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् । 

यो विद्यालयलाई सरकारले नमुना विद्यालयको रुपमा विकास गर्ने लक्ष्य समेत लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button