तपाईँ सुन्दै हुनुहुन्छः

इलाम अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

इलाम  ।  इलाममा कोभिड–१९ को संक्रमणदर र मृत्युदर बढिरहेको बेला परीक्षणको दायरा बढाउन सहयात्रा नेपाल संस्थाले इलाम अस्पताललाई एन्टिजेन कीटसहित स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । 

संस्थाले ३ सय ५० थान एन्टिजेन कीट, सक्सन मेसिन ४ थान र पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई ) ५० थान उपलब्ध गराएको जनाइएको छ । 

संस्थाका अध्यक्ष हेमकुमारी शिवा र प्रमुख अतिथि इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले इलाम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो । 

संक्रमणदर बढिरहेका बेला कोरोना परिक्षण र नियन्त्रणमा सघाउ पुर्‍याउन सामाग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष हेमकुमारी शिवाले बताउनुभयो ।  

उहाँले स्वास्थ्य सेवामा खटिरहनुभएका स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपिई) साथै इलाम अस्पतालमा सेवा लिने बिरामीहरूको लागि सक्सन मेसिन उपलब्ध गराएको बताउनुभयो । 

टेवा संस्थाको आर्थिक सहयोगमा पाँच लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तर गरिएको संस्थाले जनाएको छ ।  

कोरोना सङ्क्रमणका बेला विभिन्न सङ्घ संस्थाहरूले इलाम अस्पताललाई स्वास्थ्य सामाग्री र उपकरणहरू सहयोग गरिरहेको बताउँदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले सहयात्रा संस्थाले जनस्वास्थ्यमा प्रत्यक्ष सहयोग पुग्ने गरी अस्पताललाई  स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनुभयो । 

वडा अध्यक्ष श्रेष्ठले कोरोना महामारीको बेला मानवीय स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सहयात्राले महत्त्वपूर्ण सहयोग पुर्‍याएको बताउनुभयो । 

५० शय्याको इलाम अस्पतालमा जनशक्ति अभावमा सम्पूर्ण सेवा  दिन सकिरहेको छैन । 

दुई वटा एचडियु शय्यासहित ४२ शय्यामा राखेर कोभिडका बिरामीलाई उपचार गरिरहेको अस्पताल प्रशासनले जनाइएको छ । 

दुई शय्या रहेको  इन्टेन्सिभ केयर युनिट (आइआइसियु )सेवालाई हाई डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड बनाएर गत जेठको पहिलो सातादेखि सेवा सञ्चालन गरिएको थियो । 

सीमित जनशक्तिको भरमा अस्पतालले एचडियु सेवा सफल भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button