खोपको लक्षित समूह निर्धारण गरिने : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमणबाट प्रभावित जनजीवन सामान्य बनाउन सहयोग पुग्ने गरी खोपको लक्षित समूह निर्धारण गरिने बताउनुभएको छ ।
राज्यमन्त्री श्रेष्ठले उमेर समूह, आर्थिक तथा शैक्षिक गतिविधिमा संलग्न व्यक्ति तथा संक्रमणदर उच्च रहेका क्षेत्रलाई प्राथमिकता दिई खोप कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।
अहिले दैनिक करिब २ लाख जनालाई कोरोना विरुद्धको खोप लगाइएको जानकारी दिनुहुँदै राज्य मन्त्री श्रेष्ठले चैत्र मसान्त सम्ममा खोप दिन योग्य सबै नागरिकलाई खोप उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले नेपालका लागि आवश्यक करिब ५ करोड ५० लाख मात्र खोप प्राप्त हुने सुनिश्चितता समेत भइसकेको जानकारी दिनुभयो ।
राज्य मन्त्री श्रेष्ठले खोप अभियानलाई व्यवस्थित गर्न सरकारले खोप केन्द्रहरू थप गर्ने तथा किशोर–किशोरीको समूहलाई उपलब्ध गराउन फाइजर र मोर्डनाको खोप ल्याउने तयारी भइरहेको बताउनुभयो ।
नेपाल सरकारसँग बढीमा २५ लाख मात्रा सम्म खोप भण्डारण गर्ने क्षमता रहेका कारण प्राथमिकताका आधारमा विभिन्न चरणमा खोप दिने योजना बनाएको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
यस अगाडि संसद्को शून्य समयमा बोल्नुहुँदै सांसद खगराज अधिकारीले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद गणेश सिंह ठगुन्नाले दार्चुलाको तुइन घटना छानबिन समितिको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद झपटबहादुर रावलले कर्णालीको डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउनेका आश्रित परिवार तथा घाइतेहरूलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
यस्तै, विशेष समयमा बोल्नुहुँदै सांसद विष्णु पौडेलले अर्थमन्त्री जनार्दन शर्माले संसद्मा प्रस्तुत गर्नुभएको नेपालको आर्थिक अवस्था सम्बन्धी यथार्थ पत्र तथ्यहीन र अघिल्लो सरकारको आलोचनामा केन्द्रित रहेको टिप्पणी गर्नुभयो ।
पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद पौडेलले बजेट सम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउनु थियो भने आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमान अध्यादेश किन प्रतिनिधिसभा समक्ष पेस गरेको भनी प्रश्न गर्नुभयो ।
सांसद देवेन्द्रराज कँडेलले नेपाल भारत सीमा क्षेत्रमा हुने चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मातृका प्रसाद यादवले तत्काल नागरिकता विधेयक ल्याउन माग गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको स्टान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७७ राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल भएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २९ गते शुक्रवार दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्