दोधारा चाँदनीमा सशस्त्रको २०औँ बिओपी स्थापना

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ७ कञ्जभोजमा २०औँ बोर्डर आउट पोष्ट (बिओपी)स्थापना गरिएको हो ।
सीमापारिबाट हुनसक्ने अपराधीक गतिविधि नियन्त्रण र सीमा अतिक्रमण रोकथामका लागि सशस्त्रको २०औँ बिओपी स्थापना गरिएको दोधारा चाँदनीका नगरप्रमुख वीर बहादुर सुनारले बताउनुभयो ।
सशस्त्रको बिओपी उद्घाटन गर्दै नगरप्रमुख सुनारले विगतका तुलनामा दोधारा चाँदनी नगरपालिकामा सुरक्षा व्यवस्था निकै मजबुत रहेको बताउनुभयो ।
उहाँले दोधारा चाँदनी नगरपालिका भौगोलिक बनावटले समेत सदरमुकामबाट टाढा रहेको र दोधारा चाँदनीबासीहरु किनमेललगायत स्वास्थ्य उपचार गर्न समेत सीमावर्ती भारतीय बजारमा जाने हुँदा सुरक्षाकर्मीहरू जनताको मर्म बुझेर कार्य गर्न सुरक्षा अधिकारीहरूलाई अनुरोध समेत गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरीलाई दोधारा चाँदनी नगरपालिकाले विगतका दिनहरूदेखि नै सघाउँदै आएको र आगामी दिनहरूमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढी अनुशासित एवम् कर्तव्यनिष्ठ भई कार्य क्षेत्रमा परिचालन हुन सुरक्षा अधिकारीहरू र मातहतका जवानहरूलाई निर्देशन दिनुभयो ।

उहाँले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको भन्दै सरकारको नीति अनुरूप सिमानालाई अझ मजबुत बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्न बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने बताउनुभयो ।
उद्घाटनका अवसरमा सशस्त्र प्रहरीको लागि दोधारा वडा नं. १० कुतियाकवरमा जग्गा दान गर्ने जग्गादाता खडक बस्नेतलाई सम्मान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्