सप्तरी प्रहरीद्वारा १७ सय ३५ मास्क वितरण

सप्तरी। सप्तरी प्रहरीले कोरोना भाइरस संक्रमण बढिरहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै ‘नेपाल मास्क अभियान’ लाई निरन्तरता दिँदै आएको छ ।
कोरोना महामारीको तेस्रो लहरको जोखिमबाट हुन सक्ने सम्भावित खतराबाट आम नागरिकहरूलाई बच्न र बचाउने उद्देश्य अनुरूप जिल्ला प्रहरी कार्यालय सप्तरी र सामुदायिक प्रहरी सेवा केन्द्र सप्तरीको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा सञ्चालनमा ल्याएको नेपाल मास्क अभियान कार्यक्रम अन्तर्गत “महामारी नियन्त्रण र रोकथाम मेरो प्रतिबद्धता मास्क र सेनिट्राईजर नै हो आजको आवश्यकता” भन्ने मूल नाराका साथ तपाईँको मास्क खै अभियान सञ्चालनमा ल्याएको हो ।
प्रहरीले सदरमुकाम राजविराज लगायत जिल्लाको विभिन्न बजारहरूमा मास्क खोइ अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयभान द्विवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले सडकमा आई सर्वसाधारणले मास्क लाए नलाएको अनुगमन गरी मास्क नलगाएकाहरूलाई निःशुल्क मास्क समेत वितरण गरेको छ ।
कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।प्रहरीले भिडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँडडुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमण दिनानुदिन बढिरहेको बेला प्रहरीको यस अभियानले कोरोना संक्रमण रोक्न सघाउ पु¥याउने विश्वास लिइएको छ ।
मास्क र सेनिटाईजरको प्रयोग गरौँ, कोरोनाबाट बचौँ सम्बन्धी जनचेतनामूलक पर्चा सहित विभिन्न सङ्घ संस्थाबाट सहयोग स्वरूप प्राप्त १७ सय ३५ मास्क वितरण गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लगायत अन्य पदाधिकारी र ट्राफिक प्रहरी समेतको सहभागितामा जिल्लाका विभिन्न स्थानहरूमा मास्क वितरण गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्