भुम्लुका किसानलाई ५० प्रतिशत अनुदानमा बाख्रा वितरण
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले व्यावसायिक पशुपालनमा आबद्ध किसानहरूलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको बाख्रा वितरण गरेको छ ।
गाउँपालिकाले बुधवार वडा नं. ८ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको हो । कृषि र पशुपालनमा पालीकाले किसानहरूलाई व्यावसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रमको सुरुवात गरेको गाउँपालिकाको उप प्रमुख कल्पना श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार पालीकालाई मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बाख्रा वितरण गर्दै आएको उप प्रमुख श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकताका साथ अगाडि बढाउन अनुदानमा बाख्रा बङ्गुर तथा भैँसी वितरणको सुरु गरिएको पालीकाले जानकारी दिएको छ । यही आर्थिक वर्षमा अनुदानमै पालीकाका किसानका लागि उन्नत जातका बाख्रा, बङ्गुर तथा भैँसी वितरण हुने र यसका लागि खरिदको प्रक्रिया अघि बढाइसकेको पालीकाले जानकारी दिएको छ ।
गाउँपालिकाले अनुदानमा वितरण गरिएको बयर जातका बाख्राको बिमासमेत पनि गरी दिएको छ । पालीकाले कृषि र पशुपालन क्षेत्रको विकासका लागि विगतदेखि नै कृषि क्षेत्रमा कृषकहरूलाई अनुदान दिँदै आएको र त्यसैको निरन्तरतास्वरुप यस वर्षदेखि उन्नत जातका भैँसी र बङ्गुर वितरण गर्न थालिएको पालीकाले जानकारी दिएको छ ।
गाउँपालिकाले एकल महिला, असहाय र लामो समयदेखि पशुपालनको क्षेत्रमा लागेका किसानलाई प्राथमिकताको आधारमा बाख्रा वितरण गर्दै आएको छ । छुट भएका किसानका लागि आगामी यस आर्थिक वर्षको कार्यक्रममा समेटिने गाउँपालिकाको योजना रहेको छ । वडा कार्यालयमा आवेदन दिएका मध्ये छनोटमा परी अनुदानमा बाख्रा प्राप्त गर्ने किसानले ५० प्रतिशत रकम लगानी गर्नुपर्नेछ भने बाँकी रकम गाउँपालिकाले ब्योहोर्दै आएको छ ।
यसमा बिमाको रकमसमेत समावेश हुने उप प्रमुख श्रेष्ठले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्