तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज अख्तियार कार्यालयमा सबैभन्दा बढी उजुरी स्थानीय तहका

नेपालगञ्ज ।अख्तियारमा प्रत्येक बर्ष उजुरीको सङ्ख्या बढ्दै गएको छ । सबैभन्दा बढी स्थानीय तहका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको कार्य क्षेत्र रहेका ४ जिल्ला बाँके, बर्दिया, दाङ र रोल्पा मध्ये सबैभन्दा बढी उजुरी बाँकेका छन् ।

बाँकेका ३४४ उजुरी मध्ये २२४ को छानबिन सम्पन्न भएको छ । त्यस्तै दाङका २४५ उजुरी मध्ये १५१ उजुरीको छानबिन सम्पन्न भएको छ । बर्दियाका १८० उजुरीमा १२४ फर्छ्यौट भएका छन् । गत वैशाखदेखि मात्र नेपालगञ्ज कार्यालयको कार्य क्षेत्रमा परेको रोल्पामा भने ७ उजुरीमा ४ को छानबिन सम्पन्न भएको छ । ४ वटा जिल्लाका स्थानीय तहमध्ये बाँकेको कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा कोहलपुरका १६ उजुरी फर्छ्यौट हुन बाँकी छ । दोस्रोमा बर्दियाको बढैयाताल गाउँपालिकाको १२ उजुरी बाँकी छन् भने तेस्रोमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका ११ उजुरी फर्छ्यौट हुन बाँकी रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।

आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रगति सार्वजनिक तथा सञ्चारकर्मी भेटघाट कार्यक्रममा कार्यालय प्रमुख कृष्ण कुमार निरौलाले गत वार्षिक वर्षमा नेपालगञ्ज कार्यालयले ३ वटा स्टिङ अपरेसन गरेको बताउनुभयो । गएको बर्ष स्थानीय तहका सबैभन्दा बढी २५२ उजुरी परेका थिए । ती मध्ये १५४ फर्छ्यौट भएको निरौलाले जानकारी दिनुभयो । त्यस्तै स्थानीय तह अन्तर्गत शिक्षाका १२१ उजुरी परेकोमा ८२ वटा फर्छ्यौट भएको छ ।

आर्थिक बर्ष २०७७/७८ मा ४ वटा जिल्लाबाट ७७६ उजुरी परका थिए । ती मध्ये ५०३ फर्छ्यौट भएका छन् । सम्पर्क कार्यालय नेपालगञ्जका अनुसार विकास योजनामा वास्तविक सम्पन्न कार्य भन्दा बढी रकम भुक्तानी गरेको र न्यून गुणस्तरीयरुपमा सम्पन्न गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरी खरिद कारबाही गरिएको, झुटा बिल भरपाई, वास्तविक भन्दा बढी खर्च देखाई अनियमितता गरेको, कर्मचारी भर्ना गर्दा योग्यता प्रणालीको बर्खिलाप हुने गरी भर्ना गरेको, स्वीकृत दरबन्दी विपरीत भर्ना गरेको, सार्वजनिक जग्गाको अनधिकृत कब्जा, अतिक्रमण र दर्ता सम्बन्धी, पदीय दायित्व पालना नगरेको, अनुचित कार्य सम्बन्धी, अकुत सम्पत्ति आर्जन, झुटा शैक्षिक प्रमाणपत्र लगायतका विषयमा बढी उजुरी परेका छन् ।

कार्यालय प्रमुख निरौलाले प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक कार्यहरू गरिरहेको बताउनुभयो । उहाँले आयोगमा गोलमटोल उजुरी बढी आउने गरेको जानकारी दिँदै कार्यबोझ बढी हुँदा भनेजस्तै काम हुन नसकेको बताउनुभयो । ४० जना कर्मचारीको दरबन्दी रहेको नेपालगञ्ज कार्यालयमा अहिले ३२ कर्मचारी रहेको जानकारी दिँदै उहाँले प्रयोगशाला सञ्चालन गरिए पनि प्राविधिकहरूकै दरबन्दी खाली रहेकाले काममा अप्ठेरो परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button