कोभिड अस्पताललाई युके प्रवासीको आर्थिक सहयोग
भोजपुर । रोजगारीको सिलसिलामा युकेमा बसोबास गर्दै आएका प्रवासी नेपालीले कोभिड–१९ बाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग सङ्कलन गरेका छन् ।
कोरोना सङ्क्रमणको जोखिम कायम रही रहँदा भोजपुर लगायत विभिन्न जिल्लाका प्रवासी दाताहरुले आर्थिक सङ्कलन गरेर भोजपुरमा रहेको कोभिड अस्पताललाई आर्थिक सहयोग प्रदान गरेका हुन । अस्पताल सञ्चालनका लागि बनेको आर्थिक सङ्कलन सहयोग समितिले देश भित्र र बाहिर रहने जिल्लावासीहरूलाई सहयोगको लागि आह्वान समेत गरेको थियो ।
कोभिड–१९ का कारण भयावह अवस्थालाई मध्यनजर गर्दै प्रवासी नेपालीले कोभिड अस्पतालको आवश्यक व्यवस्थापनका लागि एक लाख २६ हजार ८ सय ६ रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरेको हो । युके निवासी भोजपुरको टेम्केमैयुङ गाउँपालिका गोगनेका रविनकाजी राई र कोटकी विजयालक्ष्मी राईको नेतृत्वमा सङ्कलन भएको सहयोग रकम भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक कमलजंग राईले कोभिड अस्पताल सञ्चालन सहयोग समिति भोजपुरका संयोजक ध्रुवलाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
प्रवासी सहयोगीदाताहरूलाई धन्यवाद दिँदै संयोजक श्रेष्ठले अस्पताललाई गरिएको सहयोगले आर्थिक विपन्नताका नागरिकलाई थप राहत पुग्ने बताए । विशेष गरी आपतकालिन परिस्थितिलाई विशेष प्राथमिकतामा राखेर सहयोग रकम खर्चिने श्रेष्ठको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्