तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा बिरामीको चाप बढ्यो

बीरगंज । कोरोना सङ्क्रमणको त्राससँगै मौसममा आएको परिवर्तनले बिरामीको चाप बढेपछि नारायणी अस्पताल अस्तव्यस्त भएको छ । 

गरिब, सर्वसाधारण नागरिकको उपचारको केन्द्रको रुपमा रहेको नारायणी अस्पतालमा एक साथ अहिले भाइरल फिबर, रुघाखोकी, टाइफाइड, आऊ, झाडा पखालाका सयौँ बिरामीहरू उपचारका लागि पुग्ने गरेका छन् । 

त्यसैगरी स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका बिरामीहरू समेत निःशुल्क उपचार र औषधी समेत पाउने भएपछि नारायणी अस्पतालमा सर्वसाधारण बिरामीको भिड लागेको छ । 

टिकट काउन्टर र चिकित्सकसँग परीक्षणको लागि रोगीहरूको भीड बढेसँगै अस्पताल प्रशासनले बिरामीको भिडलाई व्यवस्थापन गर्न नसक्दा फेरी अस्पतालबाटै कोरोना संक्रमण फल्न सक्ने त्रास समेत बढेको छ । 

स्वास्थ्य बिमा कार्यक्रममा सरकारले प्राथमिकतामा राखेपछि नारायणी अस्पतालमा बिरामीको चाप बढेको छ । 
यसअघि बीरगंजका निजी अस्पतालहरूले विज्ञापन नै गरेर स्वास्थ्य बिमा गरेका बिरामीलाई बोलाउने गरेको र सामान्य बिरामीलाई समेत धेरै परीक्षण गरेर सरकारसँग बिमा बापतको रकम लिँदै आएका थिए । 

साउनयता प्रथम सेवा विन्दुबाट रेफर नभई निजी अस्पतालमा गए स्वास्थ्य बिमाको रकम नपठाउने निर्णय भएपछि नारायणी अस्पतालमा बिरामीको चाप बढेको छ । 

यसअघि बिरामीको इच्छाअनुसार सजिलै रेफर गरिँदै आएकोमा साउनयता भने डाक्टरले एनएमसी नम्बरसहित राखेर कारणसहित रेफरको चिठ्ठी बनाइदिनु पर्ने नियम लागेपछि नारायणी अस्पतालले बिरामीलाई रेफर समेत दिन छाडेको छ । 

स्वास्थ्य बिमा कार्यक्रममा कडाइ भएपछि नारायणी अस्पतालमा ओपिडी सेवा लिने बिरामीहरूको सङ्ख्या दैनिक ३ सयभन्दा माथि रहेको छ । तीमध्ये अधिकांश स्वास्थ्य बिमाका सेवाग्राही रहेको अस्पताल प्रशासनले जनाएको छ । 

नारायणी अस्पतालमा बढ्दो बिरामीहरूको सङ्ख्या अनुसारको संरचना र कर्मचारी तथा चिकित्सकको अभाव हुँदा समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button