तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा मधुश्रावणी पर्व आज धूमधाम सहित सम्पन्न

जनकपुरधाम । तराई मधेश सहित मिथिला क्षेत्रमा नवविवाहित कन्याले आज देखि मधुश्रावणी पर्व धूमधामका साथ कथा सुनेर सम्पन्न गरेका छन् ।

नवविवाहिता कन्याले १३ दिनसम्म मनाएको यो पर्व साउन महिनाको कृष्णपक्ष पञ्चमी तिथि शुरु भएर आज शुक्लपक्ष तृतीयाका दिन विधिपूर्वक विशेष पूजापाठ गरेर कथा सुनी समापन गरेका छन् ।

यो पर्व मनाउने नव विवाहित कन्याले ससुराली पक्षबाट आएका नयाँ रातो, पहेँलो तथा हरियो साडी, चोला, चुरा, पोते सहितका आभूषणहरू लगाएर समूहमा भेला भएर प्रत्येक दिन साँझ परम्परागत मधुश्रावणीको गीत सहित गाउँ शहर नजिकको सार्वजनिक उद्यान, मठ मन्दिरमा पुगेर फूल टिपेका थिए । जसलाई स्थानीय भाषामा फूललोढी भन्ने चलन रहेको छ ।

साँझ पख टिपेका फुलबाट नै प्रत्येक दिन बिहान घरको आँगनमा सरसफाई गरेर गाईको गोवरले लिपपोत गरेर अरिपन गरी त्यस माथि बाकसको पत्तामा शिव, पार्वती तथा नागदेवताको विशेष प्रकारले पूजा गर्ने चलन रही आएको छ । नव विवाहित कन्याले यस अवधिमा ससुराली पक्षबाट आएका खाद्यान्न परिकारहरू खाएका थिए ।

समापनका दिन अरबे अरवाईनका परिकार बनाएर खाने चलन रहेको छ । श्रीमान्को सुस्वास्थ्य, दीर्घायु तथा अटल सौभाग्य एवं सुखमय दाम्पत्य जीवनको कामना सहित मधुश्रावणी पर्व प्रत्येक वर्ष साउन महिनामा मनाइन्छ ।

व्रतीले पर्वको अन्तिम दिन आज श्रीमान् सँगै विशेष प्रकारले कथा तथा पूजा गरेका छन् । यस दिन ससुराली पक्षबाट आउने कोरोलीहरु, पूजाका सामाग्रीहरू शिव पार्वती तथा नाग देवतालाई अर्पण गरेर कथा सुनेर पर्वको समापन गरेका छन् । साथै ससुराली पक्षबाट आएका कोसेलीहरू छरछिमेक, इष्टमित्र, आफन्तजनहरूलाई आमन्त्रण गरेर खुवाउने तथा कोसेली वितरण गर्ने काम गरेका छन् ।

खास गरेर मिथिलामा बसोबास गर्ने ब्राह्मण, कायस्थ, सोनार, लोहार र कथवनीया सहितका जातका नव विवाहित कन्याले मधुश्रावणी पर्व मनाउने चलन रहेको छ  । मधुश्रावणी पर्व अवधिभरिमा मिथिलाका गाउँ गाउँ सङ्गीतमय बन्ने गरेको छ भने नव विवाहित कन्याले सजिएर हस्सि ठट्टा गर्दै फूल टिप्ने काम गर्ने गरेकाले मिथिलाञ्चलको रौनकता निक्कै बढ्ने गरेका छन् ।  

बढ्दो सहरीकरण तथा आधुनिकतासँगै यसमा केही कमी आए पनि मिथिलाञ्चल क्षेत्रमा यो परम्परालाई शहरी क्षेत्रमा पनि निरन्तरता दिने काम भएको छ । गाउँमा त अझै  भव्यताका साथ मनाउने गरिन्छ ।  नव विवाहित कन्या तथा श्रीमानका बीचमा रहेको सम्बन्धलाई मधुश्रावणी पर्वले अझै प्रगाढ बनाउने विश्वास गरिन्छ ।

यसमा भएका कतिपय गलत परम्परामा सुधार भएर आज अन्तिम दिन टेमी दाग्ने चलन रहे पनि अहिले यसमा कमी आएको छ । यसलाई महिला हिंसाको रुपमा लिन थालिइएको छ श्रीमान्ले श्रीमतीको तिघ्रामा टेमी दाग्ने चलन रहेकामा यसको श्रीमानबाट नै विरोध भएपछि रोकिन थालेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button