कोभिड–१९ तेस्रो लहरको प्रतिकार्यका लागि पूर्व तयारीमा जुट्यो पुनर्वास नगरपालिका
कञ्चनपुर । कोभिड–१९ को पहिलो र दोस्रो लहरको अनुभव र सिकाइबाट तेस्रो लहरको सामना गर्न पुनर्वास नगरपालिकाले प्रतिकार्यका लागि सरोकारवाला साझेदार सहयोगी संस्थाहरूसँग छलफल गरेको छ ।
उक्त कार्यक्रममा पुनर्वास नगरपालिकामा कोभिड–१९ विरुद्ध प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्य राखी कोभिड–१९ सम्बन्धी कार्यविधि मानक सञ्चालन प्रक्रिया निर्माण गर्ने, हाल उपलब्ध संरचना तथा सेवाहरू, होल्डिङ्ग सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने तथा नगरपालिकामा आबद्ध नागरिक सङ्घसंस्थाहरू, सामुदायिक संस्थाहरू र टोल विकास संस्थाहरू मार्फत सचेतना अभियान सञ्चालन गर्ने विषयमा जोड दिइएको छ ।
पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख शारदा शर्मा विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू, विषयगत समितिका संयोजकहरू तथा साझेदारी सङ्घीयता सहयोग परियोजनाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कोभिड–१९ विरुद्ध प्रतिकार्यको लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यले यस अभियानमा सहयोग पुग्ने नगरप्रमुख थापाले विश्वास व्यक्त गर्नुभयो ।
यस अभियानमा यु.एस.ए.आई.डी. साझेदारी सङ्घीयता सहयोग कार्यक्रमले आवश्यक सहयोग पुर्याउने जानकारी गराइएको छ । साथै उक्त कार्यक्रमका सहभागीहरूले डोकेबजार गौरीफण्टा नाका सुदूरपश्चिमकै प्रमुख नाका भएकोले भारत जाने र भारतबाट फर्किनेको सङ्ख्या अत्यधिक रहेको तथ्यलाई स्वीकार गरिएको तर हाल उक्त नाकामा एन्टिजेन परीक्षणलाई थप व्यवस्थित गर्नु पर्नेमा जोड दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्