तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दो

अछाम । अछाम जिल्लामा पछिल्लो समय भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । 

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा दिन प्रतिदिन भाइरल ज्वरोका बिरामीहरू बढिरहेका छन् । 

मौसम परिवर्तन भएसँगै ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेका बताइएको छ । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूमा दिनदिनै ज्वरोका बिरामीको सङ्ख्या बढ्ने गरेको पाइएको छ ।  जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको छ । 

जिल्ला अस्पतालमा हाल दैनिक २५÷३० जनाभन्दा बढी ज्वरोका बिरामी आउने गरेको अस्पतालका नर्सिङ इन्चार्ज तथा सूचना अधिकारी गङ्गा बुढामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार विगत १ महिना देखि जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । 

अस्पतालमा हाल ज्वरो, निमोनिया, दम, झाडापखाला लगायतका गरी दैनिक १ सय ५० देखि १ सय ८० जना सम्म बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो ।

अस्पताल आउने बिरामीमध्ये अधिकांश ज्वरो र रुघाखोकीका छन् । गर्भवती महिला तथा दीर्घ रोगका बिरामी समेत बढिरहेको अस्पतालले जनाएको छ । 

मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका उहाँको भनाइ छ । 

वर्षाका कारणले दूषित पानीको प्रयोगले पनि यो समस्या आएको भन्दै पानी उमालेर मात्रै पिउन उहाँले सुझाव दिनुभयो । नयाँ मूलको पानी समेत उमालेर मात्रै पिउन उहाँको सुझाव छ । 

कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेको बताउँदै उहाँले ज्वरो, खोकी कोरोनाको लक्षणभित्र पर्ने भएकाले शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको बताउँदै उहाँले शङ्का लागे बिरामीको एन्टिजेन परीक्षण गर्नुपर्ने बताउनुभयो । 

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्याधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाई छ । 

भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोलिलो पदार्थ बढी खान, सफा पानी पिउन, खानपिन र सरसफाइलगायत स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिन उहाँको सुझाव छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button