अछाममा ‘तपाईँको मास्क खै’ ? अभियान सुरु

अछाम । अछाममा ‘तपाईँको मास्क खै’? अभियान सुरु गरिएको छ ।
कोरोना भाइरसको तेस्रो लहर सुरु भएको भन्दै नेपाल सरकारले ल्याएको ‘नेपाल मास्क अभियान’ कार्यक्रम अन्तर्गत जिल्ला सदरमुकाम, नगरपालिका र गाउँपालिका केन्द्रलगायत ग्रामीण बजार क्षेत्रहरू लक्षित गरी अभियान सुरु गरिएको हो ।
अभियानमा सचेतनामूलक सामाग्री प्रसारण गर्दै बजार परिक्रमा गर्ने, मास्क नलगाएकाहरूलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्ने, मास्क नभएका र पुरानो लगाइरहेकाहरूलाई मास्क वितरण गर्ने काम गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
अछाम सदरमुकाम मंगलसैन बजार र ठुलासैन बजारमा अभियान अन्तर्गत मास्क बाँडिएको छ ।
सदरमुकाम मङ्गलसेनमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, मङ्गलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहरा, प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्याल वडा अध्यक्ष, सुरक्षाकर्मी सहितको टोलीले मास्क वितरण गर्दै जनचेतना जगाउनुभएको छ ।
कोरोना महामारीको संक्रमण तथा जोखिम कायमै रहेको र कतिपयले निकै लापरबाही गर्न लागेको भन्दै अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा मास्क वितरण तथा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरिएको हो ।
मङ्गलसेनको बैरागीधाराबाट सुरु गरिएको अभियान, मङ्गलसेन वीचबजार, दरबार क्षेत्र, पीपल चौतारा, अछाम बहुमुखी क्याम्पस अस्पतालसम्म पुगेको थियो । सहभागी सबैले मास्क लगाउन अनुरोध गर्दै मास्क नलगाएकाहरूलाई मास्क वितरण गर्नुभएको थियो ।
कोरोना महामारीको अछाम जिल्लामा पनि ठुलो जोखिम भएकाले यसबाट निकै सचेत रहन जिल्ला समन्वय प्रमुख नरबहादुर कुँवरले आग्रह गर्नुभयो ।
अहिले अछाम जिल्ला देशभरका जोखिमपूर्ण १७ जिल्लामध्ये एक रहेकोले पनि सचेत रहनु जरुरी रहेको सरोकारवालाले जनाएका छन् ।
अहिले व्यापार, यातायात लगायतमा खुकुलो पारिएको तर उहाँहरूले लापरबाही गर्दा पछि बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने प्रमुख जिल्ला अधिकारी मल्लको भनाई छ ।
यस्तै मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले स्वास्थ्य सबैभन्दा ठुलो भएको भन्दै कोरोनाबाट बच्न मास्कलगायत स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गर्नुभयो । बजार परिक्रमको क्रममा उहाँले अव्यवस्थित तथा सडकमा सामान राखी व्यापार गर्ने व्यापारीलाई समान व्यवस्थित गर्न आग्रह समेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरप्रमुख लगायतले बजारलाई व्यवस्थित राख्न, सामान तथा निर्माण सामग्री सडकमा नराख्न, दरबार अगाडीको पसल तुरुन्त व्यवस्थित गर्न आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा अछामका प्रहरी प्रमुख डिएसपी तुल्सिराम अर्यालले कोरोनाको संक्रमण जारी रहेकोले आज फेरी जिल्लाका सरोकारवाला आएर मास्क वितरणसँगै जनचेतना जगाएको र यदि भोलि बिहीबारबाट कसैले मास्क नलगाएको पाइएमा कारबाही गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका सभापति रत्न प्रसाद ढुङ्गाना, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सुदूरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर रावल मङ्गलसेन ३ का अध्यक्ष पदम घाट, ४ का अध्यक्ष पदम बहादुर धामी ५ का अध्यक्ष हरि प्रसाद ढुङ्गाना, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्