तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीको वैधानिकतामाथि चिन्ता छ: नेता केसी

चितवन । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेसको १४औँ महाधिवेशन हुने वा नहुने विषयमा भन्दा पनि वैधानिकतामाथि चिन्ता भएको बताउनुभएको छ । 

आज भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै पार्टीको मान्यता स्थापित गर्दै वैधानिकता बचाएर महाधिवेशन गर्नुपर्ने बताउनुभएको हो । 

“वैधानिकतालाई थाती राखेर कुन बाटोबाट उपयुक्त हुन्छ महाधिवेशन गर्नुपर्छ” , उहाँले भन्नुभयो, “महाधिवेशन सर्ने नसर्ने भन्ने विषयभन्दा पनि नेपालको संविधानले दिएको विशेष अवस्था प्रयोग गरेर गर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो ।” 

वैधानिकता बचाउन पार्टीमा छलफल गरेर पार्टीको अस्तित्व बचाउनुपर्ने उहाँको भनाई थियो । पार्टीको स्थापित मान्यतालाई कायम राखी अदालतमा नजिर बन्ने अवस्था आउन दिन नहुने उहाँको तर्क छ  ।

“विशेष महाधिवेशन गर्दा क्रियाशील सदस्यता ७÷८ महिनामा सल्ट्याउन सक्छौँ”, उहाँले भन्नुभयो, “विवाद कायम हुँदा नै महाधिवेशन गर्न हतार गरियो भने पनि वडा स्तरबाट नै तिक्तता हुन्छ । मेरो एउटै मात्र चिन्ता पार्टीको वैधानिकता माथि हो ।”

एमसीसी(मिलेनियम च्यालेन्ज कर्पोरेसन) को विषयमा बोल्नुहुँदै नेता केसीले राष्ट्र हितलाई सम्बोधन गर्ने गरी एमसीसी पारित गर्नुपर्ने बताउनुभयो  । 

“यो हाम्रै पालामा सम्झौता भएको हो । यसमा संशोधन र जनतालाई सम्बोधन हुने गरी पारित गर्नुपर्छ ।” नेता केसीले भन्नुभयो । 

उहाँले एमसीसी बारेमा जनतामा व्यापक अविश्वास र प्रश्नहरू उब्जिएको भन्दै उहाँले नेपालको सार्वभौमिकता र स्वायत्ततालाई असर नपर्ने गरी पारित गर्नुपर्ने बताउनुभयो । 

“राष्ट्रको हित, सार्वभौमसत्ताका विषयमा के के छन् छानबिन गरेर मात्र पारित गर्नुपर्छ ।” उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button