नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्छ : उपाध्यक्ष डा.पौडेल

काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा.विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिई नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष डा.पौडेलले सरकारको खर्च घटाइ उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले पौडेलले उद्यमीले सस्तोमा वस्तु उत्पादन गर्न नसके उनीहरूको प्रतिस्पर्धात्मक क्षमता विकास हुन नसक्ने भएकोले सरकारले सहज व्यवसायका लागि नियामयकी दायरा खुला बनाइ खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नु आवश्यक छ, भन्नुभयो ।
उपाध्यक्ष डा.पौडेलले दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारको खर्च कम गर्ने बाटोमा अघि बढ्ने र निजी क्षेत्रलाई करको भार कम गर्ने बताउनुभयो ।
उहाँले उत्पादनमूलक क्षेत्रको विकास नभई सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भन्दै उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान कार्यान्वयन गर्न र मुलुकलाई औद्योगीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्