बन्दाबन्दीका कारण सताक्षीधामका साधुसन्तहरुलाई खाद्यान्नमा समस्या

झापा । लामो समयदेखिको बन्दाबन्दीका कारण आर्थिक स्रोत अभावले झापाको धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधामका साधुसन्तहरुलाई खाद्यान्न समस्या हुँदै गएको छ ।
शिवसतासी नगरपालिका–११ स्थित सताक्षी धाममा नियमित आउने भक्तजनबाट प्राप्त हुने चन्दा, भेटी, दान र सहयोग बन्द हुँदा कुटीमा रहेका साधु सन्तलाई दैनिक उपभोग्य खाद्यान्नमा समस्या आउन थालेको हो ।
धाम परिसरमा सञ्चालनमा रहेको गुरुकुल विद्यालयमा समेत सङ्कट देखा परेको छ ।
यहाँका गुरुकुलम संस्कृति आवासीय विद्यालयमा २५ जना बटुकहरू अध्ययनरत छन् । उनीहरूको शिक्षादेखि खाना र आभासको व्यवस्था सताक्षीधाम मन्दिर विकास समितिले गर्दै आएको अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो ।
त्यस्तै धाममा सञ्चालन गरिएको गौशालामा तीन सय बढी गाई बस्तुलाई आहारा समेत जुटाउन मुस्किल हुँदै गएको छ । दैनिक जसो देश विदेशबाट आउने भक्तजनको भिड समेत सुनसान रहेको छ । कोभिडको पहिलो बन्दाबन्दीदेखि नै लागेको ताला अझै खुल्न नसक्दा धाममा आश्रित बटुक, साधुसन्तहरुलाई खानामा नै समस्या आउन थालेको अध्यक्ष सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार धाममा रहेका सबैको मुख्य आम्दानीको स्रोत भक्तजनहरू नै भएको भए पनि पछिल्ला बन्दाबन्दीले गर्दा दैनिक जीवनयापनमा कठिनाइ हुँदै गएको छ ।
अन्य आम्दानीको स्रोत केही छैन, यहाँ आउने भक्तजनले चढाएको भेटी, दान, सहयोग नै यहाँको मुख्य आम्दानीको स्रोत हो अध्यक्ष सुब्बाले भन्नुभयो ।
सताक्षीधाम मन्दिर परिसरमा रहेका कुटीहरूमा अहिले पनि १९ जना साधु, सन्त, माताहरू स्थायी रुपमा बस्दै आएका छन् । उनीहरूलाई दैनिक भोजन जुटाउन समेत अहिले धामलाई समस्या भएको छ ।
भक्तजनहरूले साधु सन्तलाई लत्ता कपडादेखि अन्नलगायतका खाद्यान्न समेत सहयोग गर्दै आएका थिए । तर यो क्रम एक वर्षदेखि भक्तजन आउन सकेका छैनन् । धार्मिक स्थलको ढोकामा ताला लागेको छ । धार्मिक स्थलमा सञ्चालन गरिएको गोलोक गोवर्द्धन गौशालामा मात्र तीनभन्दा बढी विभिन्न स्थानीय तथा निर गाई, गौरी गाई, कामधेनुलगायत प्रजातिका गाई गोरु संरक्षण गरिएको छ ।
पहाड तराईको सङ्गम स्थलमा रहेको धार्मिक स्थल प्राकृतिक रुपमा नै अति सुन्दर मनमोहक रहेको छ । सताक्षी नदीको किनारमा अवस्थित पवित्र धार्मिक तीर्थस्थल प्रत्येक वर्ष जसो देश विदेशका गरी झन्डै एक लाख धार्मिक पर्यटक आउने गरेका छन् । यो स्थान एक वर्षदेखि सुनसान रहेको छ ।
साउन महिनामा मात्र झन्डै ३० हजारभन्दा बढी भक्तजन सताक्षी नदीमा स्नान गर्न आउने गरेका थिए । सतासीधाम जस्तै देशका अधिकांश तीर्थस्थल यतिखेर कोभिडका कारण प्रभावित बन्न पुगेका छन् ।








प्रतिक्रिया राख्नुहोस्