आन्तरिक राजश्व कार्यालय भरतपुरः निषेधाज्ञाले फर्म दर्ता गर्नेको सङ्ख्यामा कमी

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरमा अघिल्लो आर्थिक बर्ष(०७६,०७७) भन्दा गत आर्थिक बर्ष ०७७,०७८मा नयाँ फर्म दर्ता गर्नेको सङ्ख्यामा कमी आएको छ । निषेधाज्ञा कारण अघिल्लो वर्षमा सबै गरी ३९ हजार ६४४ वटा फर्म दर्ता भएकोमा गत बर्ष घटेर २३ हजार ७३७ मा झरेको हो । कार्यालयले व्यावसायिक अस्थायी प्यान , व्यक्तिगत फर्म प्यान , व्यक्तिगत प्यान र सरकारी प्यान(टीडिएस) शीर्षकमा दर्ता गर्दै आएको छ ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार सबै शीर्षकमध्ये अघिल्लो आर्थिक बर्ष र गतबर्षको दर्ता भएको प्यान मध्ये सबैभन्दा बढी व्यक्तिगत प्यान दर्ता रहेको छ । अघिल्लो बर्ष कार्यालयले ३३हजार १०८ वटा व्यक्तिगत प्यान दर्ता गरेकोमा गतबर्ष १६हजार५९२ वटा दर्ता गरेको छ । यस्तै गत बर्ष व्यक्तिगत फर्म प्यान ५हजार ५सय ८६ , व्यावसायिक अस्थायी प्यान १हजार ३सय ७९ , सरकारी टीडीएस प्यान १८० वटा दर्ता भएका थिए ।
यस्तै अघिल्लो आर्थिक वर्षमा व्यक्तिगत कम्पनी प्यान ५ हजार २५३ , अस्थायी व्यावसायिक प्यान १ हजार २५९ वटा र सरकारी टीडीएस २३ र अन्य एउटा कम्पनी दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।कार्यालयका कर अधिकृत सुशील लम्सालले मुख्यतया कोभिडका कारण जिल्लामा अधिकांश महिना निषेधाज्ञा जारी भएकाले प्यान लिनेको सङ्ख्यामा कमी आएको बताउनुभयो । ‘अघिल्लो बर्ष पनि लामो समय बन्दाबन्दी भयो उहाँले भन्नुभयो, कोरोनाका कारण अन्योल पनि भयो ।’
गतबर्ष को असोज महिनाबाट चितवनको खैरहनीमा करदाता सेवा कार्यालय सञ्चालनमा आएकोले पनि अघिल्लो बर्षभन्दा गतबर्ष यो कार्यालयबाट प्यान लिनेको सङ्ख्यामा कमी आएको लम्सालले बताउनु भयो ।एक आर्थिक वर्षमा मात्रै झण्डै ६ महिना निषेधाज्ञा हुँदा पनि यो अनुपातमा प्यान दर्ता हुनुलाई सन्तोषजनक भएको उहाँको भनाई छ ।
कतिपय व्यवसाय गर्न लागेका इच्छुक व्यक्तिहरूले पनि पर्ख र हेरको अवस्थामा रहेको र दर्ताको काम भौतिक रूपमै कार्यालयमै उपस्थित हुनु पर्ने भएकोले सबै प्यान शीर्षकमा तुलनात्मक रुपमा घटेका हुन् ।दर्ता भएका प्यान शीर्षकमध्ये व्यक्तिगत प्यानको हकमा अधिकांश निजी तथा सरकारी कार्यालयका कर्मचारी तथा नियमित ज्यालादारीका लागि यो प्यान अनिवार्य भएकोले व्यक्तिगत प्यान लिनेको सङ्ख्या बढेको कर अधिकृत लम्सालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्