जुम्लाको काँचो स्याउ धमाधम निर्यात : पहिचान गुम्ने चिन्ता

जुम्ला । विगतका वर्ष जस्तै यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । कम्तीमा भदौ दोस्रो साताबाटै मात्र स्याउ टिप्न र विक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् ।
अन्य स्याउ भन्दा जुम्लाको स्थानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भन्नुभयो,“जुम्ली स्याउले हाल कलर मात्रै हाले छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ । तर किसानले बढी पैसा कमाउने दाउले परिपक्व नहुँदै स्याउ नेपालगन्ज काठमाडौँ लिएका छन् । यसले गर्दा स्याउको बजारीकरणमा दीर्घकालीन असर पर्ने निश्चित छ ।” नासोका रुपमा भए पनि विक्री गर्न भए पनि काँचो स्याउ लिँदा जुम्ली स्याउको पहिचान खतरामा पढ्ने चिन्ता बढेको प्रमुख देवकोटाको भनाई छ ।
जिल्ला कृषि विकास कार्यालयले भदौ १० गते सम्म स्याउ नटिप्न सबै किसानलाई अनुरोध तथा चोरी निकासीलाई रोक्न प्रहरीलाई पत्राचार गरेको छ । तर वडा, गाउँपालिकाका जनप्रतिनिधिले हचुवामै दिएका सिफारिसका भरमा काँचो स्याउ साउन दोस्रो साता नै सुर्खेत,नेपालगन्ज काठमाडौँ पुगेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाले जानकारी दिए ।
उहाँका अनुसार “जनप्रतिनिधिलाई स्याउको प्राविधिक पक्ष केही थाहा छैन । लेबलिङ, प्याकेजिक, ग्रेडिङ भए नभएको कुनै ज्ञान छैन । स्याउ परिपक्व छ वा छैन । गुलियोपना कति छ केही थाहा नपाएर रातो देखेकै भरमा सिफारिस दिँदा काँचो स्याउ निर्यात रोक्न समस्या भइरहेको छ ।”
साउन तेस्रो हप्तामै स्याउ टिपेर विक्री गर्ने किसान व्यापारीकै कारण जुम्लाको स्याउ खेतीलाई विस्थापित गर्ने र दीर्घकालीन रुपमा असर पर्ने निश्चित भएको छ । यसलाई रोक्न सर्वपक्षीय बलियो संयन्त्र बनाउनु पर्ने किसान सरोज शाहीले बताउनुभयो ।
जुम्लाका ३ वर्षदेखि व्यवसायीक फुजि स्याउ खेती गर्दै आएका शाहीले निर्देशन सुझावको अटेरी गरेर काँचो स्याउ बेच्नेलाई कारबाही हुनु पर्छ । विक्री गर्न होस या नासो परिपक्व नभए सम्म जिल्ला बाहिर लिन नपाउने र कडा अनुगमन गर्ने टिम बनाउनु पर्नेमा किसान शाहीले जोड दिनुभयो ।

तातोपानी र लिता गाउँपालिकाबाट ३/४ ट्रक काँचो स्याउ निर्यात भएर बिक्री समेत भइरहेको सुनिएको छ । रातो रङ्ग भरेकै आधारमा स्याउ पाक्यो भन्नु गलत हो । अझै २० प्रतिशत गुलियोपना भरिन बाँकी रहेको छ । भने, भदौ १० गते सम्म कसैलाई स्याउ निर्यात गर्न नदिन विभिन्न चौकीमा सूचना गरिएको प्रमुख देवकोटाको भनाई छ ।
कृषि कार्यालय भदौ दोस्रो सातासम्म स्याउ नटिप्न सूचना गर्ने, जनप्रतिनिधिले हचुवाकै भरमा सिफारिस दिने गरेकै कारण हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । काँचो स्याउ निर्यात क्षणिक कमाई बढी हुने निश्चित व्यक्तिलाई फाइदा भए पनि समग्र जुम्लाको आर्थिक विकास कमजोर हुने र जुम्ली अर्ग्यानिक स्याउको पहिचान जोगाउनै मुस्किल हुने वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए । काँचो स्याउ निर्यातलाई तत्काल रोक्नु पर्ने उनको माग छ ।
गाउँपालिका वडा पालिकामा सिफारिस नदिन तथा सीमा क्षेत्रका चौकीहरूलाई कडा निगरानी राख्न पत्र दिए पनि काँचो स्याउको चोरी निकासी रोकिएको छैन ।
काँचो स्याउ प्रतिकेजी ५०/६० रुपैयाँमा खरिद गर्दै
काँचो स्याउ पनि कृषकको फममा प्रति केजी ५०/६० रुपियाँमा खरिद गर्ने र सुर्खेत नेपालगन्ज काठमाडौँमा १ सय १० रुपैयाँमा विक्री भइरहेको जनाएको छ । स्याउ परिपक्व र गुलियोपना भरिएर रातो रङ्ग दिएपछि बाहिर जिल्लामा प्रतिकेजी १ सय ५० देखि २ सय भन्दा बढी मूल्यमा विक्री हुन्थ्यो ।
तर केही किसान तथा व्यापारीले काँचो स्याउ लिएर सस्तोमै बिक्री गरिरहेका छन् । यसले गर्दा जुम्ली अर्ग्यानिक स्याउ लोप हुने र फुजि जातको स्याउले बजार लिने देखिन्छ । फुजि स्याउ असोजको अन्तिम तिर टिपेर विक्री गरिन्छ । स्थानीय जातको स्याउ खेती लोप हुदै गएपछि जुम्लाका अधिकांश किसान पछिल्लो समय फुजि जातको स्याउ खेती गरिरहेका छन् । यहि वर्ष मात्रै जुम्लाका २३ जना किसानले ६० हजार फुजी स्याउका बिरुवा रोपेका छन् ।
हाल जुम्लामा ३ हजार ८ सय हेक्टर जमिनमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्क रहेको छ । यस मध्ये १ हजार ६ सय हेक्टर जमिनमा स्याउ खेतीले उत्पादन दिइरहेको छ । यस बर्ष पनि विगतको जस्तै दोब्बर स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्