तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुला घटनाबारे छिटो सत्यतथ्य जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलामा तुइन तर्दै गर्दा महाकाली नदिमा  बेपत्ता भएका जयसिंह धामीको अवस्थाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गर्नु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटा दार्चुला घटनाको विषयमा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य पत्ता लगाएर त्यसबारे चाँडो भन्दा चाँडो प्रतिनिधिसभालाई जानकारी गराउन सरकारलाई रुलिङ गर्नु भएको हो । 

बैठकमा सांसदहरुले कोरोना महामारीका कारण समस्यामा परेका जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 

उहाँहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गर्न र स्थगित भएका परीक्षा वैकल्पिक व्यवस्था गरेर भए पनि सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न समेत माग गर्नुभयो ।

बाढी र पहिराको पीडितहरूको दीर्घकालीन व्यवस्थापनका लागि देखिने गरी काम गर्न पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भयो । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका “नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६” (र “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६” सन्देश सहित टेबुल गर्नु भयो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन २८ गते बिहीबार दिउसो १ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button