कुरीति तोड्दै छोरीहरू

तनहुँ । जन्मदाताको मृत्यु पर्यन्त गरिने कार्यमा छोराका सहभागिता चाहिन्छ भन्ने मान्यतालाई तोड्न छोरीहरू आफै काजक्रियाका लागि जुट्न थालेका छन् ।
तनहुँको भिमाद नगरपालिका–२ जौपानीकी केशकुमारी थापाले आमाको काजक्रिया आफैँले सम्पन्न गर्नुभयो । आफ्नै छोरा नभएकाले दाजुभाइका छोराले भए पनि काजक्रिया गर्नुपर्ने चलन छ । तर, छोरा छोरी बराबरी भएको भन्दै उनले आमाको मृत्युपछि १३ दिनको काजक्रियामा छोरीको पनि समान हक लाग्ने भन्दै आफैँले गर्नुभयो । साउन ७ गते आमा लिलकुमारी रानाको निधन भएपछि उनले छोरा सरह नै काजक्रियामा सामेल हुनुभयो ।
थापाले धर्म संस्कार अनुसार सबै कर्म गरे पनि पिण्ड र तर्पण दिन आफूलाई नदिएको गुनासो गर्नुभयो । ‘नवौँ दिनमा भाइ पर्नेलाई तर्पण र पिण्ड दिन लगाइयो,’ उहाँले भन्नुभयो ‘मैले आमाको नाममा आफैले सबै कार्य गरेर स्वर्ग तार्ने मन थियो ।’ बाबाको निधन हुँदा नै क्रिया गर्नेको अभाव महसुस गरेकी उहाँले आमाको कर्मकाण्ड भने आफैँले गर्ने सङ्कल्प गरेकी थिइन् ।

आमालाई आफैँले संरक्षण गरेकी उहाँले मृत्यु पर्यन्त छोरीलाई काजक्रिया गर्न दिने सोच समाजमा बिस्तारै हुन थालेको बताउनुभयो । भिमाद नगरपालिकाको कार्यपालिका सदस्य समेत रहेकी उहाँले गाउँघरमा छोरा नहुने अन्य परिवारमा समेत कर्मकाण्ड गर्न छोरीलाई अघि सार्दै आउनुभएको छ । कहीकतैँ छोरीकै हातबाट अन्त्येष्टीको काम गराइएको उहाँले सुनाउनुभयो । सामाजिक मान्यता तोड्नका लागी सहज नभएको अनुभव सुनाउँदै थापाले छोरी पनि समाजलाई जित्न साहसका साथ अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
यस्तै, शुक्लागण्डकी नगरपालिका–९ घारीकी सजिना सुनारले पनि आमाको क्रिया आफैँले गर्नुभयो । गत महिना आमाको देहान्तपछि आफन्त क्रिया बस्ने तयारी गरिरहेका बेला सजिनाले आमाको सन्तानको रुपमा आफु हुदाँहुदै अरू बस्नु उचित ठान्नुभएन र समाजको कुसंस्कार तोड्दै आफैँले कर्म र धर्म निभाउनुभयो ।
“माइला बुवा क्रिया बस्ने कुरा थियो” सजिनाले भन्नुभयो” म हुँदा हुँदै मै बस्छु भने । अरूले पनि सहजै स्वीकार गर्नुभयो ।’ आमाले समेत आफ्नो क्रियाका लागि छोरीलाई नै आग्रह गर्नुभएको थियो । काज क्रियामा हुने सबै काम स्वयम गरेकी उहाँले छोराको विकल्प छोरी हुन सक्ने भन्दै सामाजिक कुरीतिलाई चिर्दै जानुपर्ने बताउनुहुन्छ ।
यी दुई त प्रतिनिधि पात्र मात्रै हुन् । अझै पनि समाजले छोरीलाई हेर्ने दृष्टि फेर्न आवश्यक छ । कुरीतिको घुम्टो हटाउन केशकुमारी र सजिना जस्ता हजारौँ छोरीले हिम्मत गर्नुपर्ने देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्