तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुर गाउँपालिका र गण्डकी प्रदेश सरकारद्वारा याम्पाफाँटका किसानलाई अनुदान

तनहुँ । तनहुँको याम्पाफाँटका दुग्ध उत्पादक किसानलाई गाउँपालिका र प्रदेशको अनुदान वितरण गरिएको छ ।

बन्दिपुर गाउँपालिकाले प्रति लिटर १ रुपैंयाका दरले अनुदान वितरण गर्न ९ लाख ५२ हजार प्रदान गरेको छ भने गण्डकी प्रदेश सरकारको तर्फबाट प्रति लिटर २ रुपैंया ५० पैसाका दरले ७ लाख ७५ प्राप्त भएको थियो ।

व्यवसायीक रुपमा गाई भैँसी पालन गरी स्थानीय याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने किसानका लागि अनुदान उपलब्ध गराइएको हो । सहकारीमा आबद्ध रही आर्थिक वर्ष २०७७/०७८ भरि किसानहरूले १३ लाख लिटर भन्दा धेरै दूध बिक्री गरेका थिए ।

सोमबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले १ सय ३० जना किसानलाई अनुदान वितरण गर्नुभएको हो ।

अनुदान वितरण गर्दै अध्यक्ष थापाले किसानका लागि हौसला प्रदान गर्न थोरै रकम सहयोग गर्न पाएको र गाउँपालिकामा आन्तरिक आम्दानी बढाउन सकेको खण्डमा उत्पादनमा आधारित अनुदानको रकममा वृद्धि गरिने जानकारी दिनुभयो ।

दूध उत्पादन सँग–सँगै दुग्ध जन्य उद्योग सञ्चालन गर्न सुझाव अध्यक्ष थापाले दिनुभएको थियो । उहाँले दाना–चोकरको आयात घटाई घाँस उत्पादनमा वृद्धि गरी लागत घटाउन पनि सुझाउनुभयो ।

बन्दिपुर वडा नं. ५ का वडा अध्यक्ष ध्रुव प्रसाद लामिछानेले किसानलाई पेन्सनको व्यवस्था गर्न राज्यले नीति ल्याउनु पर्नेमा जोड दिनुभयो।

संस्थाका सचिव रमेश ढकालले किसानलाई राज्यले उपेक्षा गरेको, कोरोना विरुद्धको खोप लगाउन समेत कन्जुस्याइँ गरेकोले तत्काल खोप उपलब्ध गराउन माग गर्नुभयो ।

नमुना गाई फर्मका सञ्चालक पुष्पराज पौडेलले किसानले भोग्नु परेको समस्या बारे जानकारी दिँदै कोरोनाका कारण पशुपालन व्यवसाय नै धरापमा परेको भन्दै विगत लामो समयको बिक्री गरिएको दूधको पैसा प्राप्त गर्न नसकिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button