बारीमै कुहियो बाजुराका नास्पाती

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा फलेको नास्पाती बारीमै कुहिएको छ ।
बाटो र बजार समस्याका कारण नास्पाती बारीमै कुहिएको हो । करिब १ सय क्विन्टल बढी नास्पाती बारीमै कुहिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताउनु भयो ।
कृषि ज्ञान केन्द्रले विगत केही वर्षदेखि जङ्गली मेललाई नास्पातीको रुपमा विकास गर्ने अभियान नै चलाएको छ । हजारौँ बोट मेललाई नास्पाती बनाउने कार्य सफल भएपनि फलेको र उत्पादन गरिएको नास्पाती बजार नपुगी बारीमै कुहिएको किसानहरू बताउँछन् ।
किसानलाई स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउने अभियान सफलतातर्फ गइरहँदा बाटो र बजारकै कारण समस्या हुने गरेको ज्ञान केन्द्रले बताएको छ । बजार खोजीका लागि किसानले आग्रह गरेपनि भौगोलिक विकटताका कारण वर्षादमा बाटो नहुनु र बजार टाढा हुनुले कृषकले मेहनतले फलाएका फलफूल बारीमै कुहिन पुगेका हुन् ।
ठूलो मात्रामा नास्पाती उत्पादन भइरहेको भन्दै केन्द्रले जुस उत्पादन कम्पनी र फलफूल व्यापारीलाई नास्पाती किनिदिन अपिल गरेको छ । रसिलो र खानमा निकै मिठो, यहाँका नास्पाती पुर्णरुपमा अर्गानिक रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्