चौसट्ठी वर्ग मिटर भित्र सुरेलको पीडा

दोलखा । चौसट्ठी बर्गमिटर, सुरेलहरूको एक परिवारको जमिन । लोपोन्मुख सुरेल जातिलाई केन्द्र विन्दुमा राखेर कविता कोरिए, कथा बुनियो, थिसिस बने, प्रोजेक्ट पसे तर सुरेलको जीवन फेरिएन, उनीहरूको जमिनमा एक बर्गमिटर पनि थपिन सकेन ।
‘तिनै चौसट्ठी बर्गमिटरमा
हजुरबा, हजुरआमा
बा, आमा
छोरा, छोरी, नाति, नातिनी
धेरै रमाए बेमतलब
धेरै नाचे विनाताल
धेरै हुर्के अन्धाधुन्ध
धेरै बढे, धेरैलाई बढाए
तर, कहिल्यै बढ्दै बढेन
जमिनको टालो ।’
यही हरफबाट कविता सङ्ग्रहको शीर्षक राखेका छन् कवि जीवन लामाले आफ्नो दोस्रो कविता सङ्ग्रहको नाम ‘चौसट्ठी वर्ग मिटर’ । ३५ वटा कविता सङ्गृहीत ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रहमा दोलखाको सुरीमा रहेको लोपोन्मुख सुरेलहरूको पीडा ओकलेका छन् कवि लामाले । र लेखेका छन् –
‘उज्यालो पर्खिरहन्छन्
सुरेल बा
उज्यालोले पनि खोजिरहन्छ
पुसको चिसोसँगै
सुरेल बा को एक धर्को कमिज ।’

सोमवार भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले विमोचन गर्नु भएको ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रहको बारेमा लेखक लामा भन्दै थिए – धेरै कुराहरू परिवर्तन भयो, राणा कालदेखि गणतन्त्रसम्म आइपुग्दा तर सुरेलको जीवनमा अहँ थोरै पनि परिवर्तन हुनै सकेन ।
एउटा परिवारको लागि चौसट्ठी बर्गमिटरको जमिन कहिले बढाउन सकिएला ? आफ्नो कविताको भाव यस्तै रहेको लामाको भनाई थियो । १३६ पेजको पुस्तकमा १०८ पेजमा रहेको ३५ वटा कवितामा सुरेलको पीडा मात्र हैन थामीको कथा र कोरोनाको आक्रमण पनि समेटिएका छन् ।
थामीको संस्कृतिसँग जोडिएको राङराङथलीलाई कविले कलात्मक ढङ्गले उतारेका छन् ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रहमा । लेखेका छन् –
‘कतै लडेका
कतै हराएका
कतै कुल्चिएका
अनि कतै ढलेका
थामहरू !
थामेका छन् थामीहरूले
राङराङथलीको ।’
कोरोनाले थलिएको अर्थतन्त्र र मानवीयतालाई पनि कवि लामाले केही कविताहरूमा समेटेका छन् । कोरोना कहरमा मेरो बा भन्दै लामाले लेखेका छन् –
‘आकाशे मैदानमा हवाईजहाज हुँदै
समुन्द्रको छालसँग, वायुको घोडा चढेर
विश्वको यात्रामा निस्केको
मन, मस्तिक
रन्थनाउँदै लम्किरहेको
मेरो देशमा पनि लुसुक्क आइपुग्यो कोरोना ।’
कवि जीवन लामाको ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रहमा श्रवण मुकारुङले भूमिका लेखेका छन्, र भनेका छन् सुरो कविता । पुस्तक विमोचनको अवसरमा साहित्यकार विष्णु सुवेदी, शङ्करलाल श्रेष्ठ, मुरारि दुलाल, पत्रकार राजेन्द्र मानन्धर, दीपशङ्कर चौलागाई, जनजाति नेताहरू जंग गुरुङ, सुवास सुरेल लगायतले पनि ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रहलाई सुरो कविताको सङ्कलन भनेर सुझावसँगै प्रशंसा गरेका छन् ।
श्रवण मुकारुङले भूमिकामा उल्लेख गर्नुभएको एरिसटोटलको सिद्धान्त कयार्थसिस वा विरेचनकै लाइनमा अघि बढेको ‘चौसट्ठी वर्ग मिटर’ कविता सङ्ग्रह कविताका उल्लेखित पाटाहरूलाई परिवर्तन गर्न सहयोगी बन्नेछ, विमोचन कार्यक्रमका वक्ताहरूको यही अपेक्षा थियो ।








प्रतिक्रिया राख्नुहोस्