तपाईँ सुन्दै हुनुहुन्छः

साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करण माल्दिभ्समा हुने

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको १३ औँ संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ ।


दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना गर्ने निर्णय गरेको हो । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।


कोभिड–१९ को अवस्था हाम्रो भन्दा माल्दिभ्समा राम्रो भएकोले त्यहाँ गर्न लागिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।


साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म आयोजना हुनेछ । १३ औँ साफमा नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काले खेल्ने पक्का भइसकेको छ । भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ ।


प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बङ्गलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेका थियो । एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्चसहितको योजना पेस गरेको थियो ।


यस्तै नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो । साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् । 


साफ अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button