तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा प्रहरीले पुनः शुरु गर्‍यो ‘तपाईँको मास्क खोइ ?’ अभियान

तनहुँ । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले तनहुँमा पनि पुनः ‘तपाईँको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन । 

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सही रूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिवार मात्रै उक्त अभियान घोषणा गरेको थियो ।

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत सोमबारसम्म १ हजार जनालाई निःशुल्क मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । जिल्लाको दमौली, डुम्रे, आँबुखैरेनी, थर्पु लगायतको स्थानमा निःशुल्क मास्क वितरण गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताउनुभयो । 

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको थियो ।  
कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन अनुरोध गर्दै मास्क नलगाई सवार गरेका सवारी चालक तथा पैदल यात्रुहरूलाई मास्क वितरण तथा कोभिड १९ को जोखिम सम्बन्धी सचेत समेत गराइएको छ । 

साथै जिल्लाभर माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको सचेतनामूलक कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्न गराउन परिपत्र गरिएपछि अहिले देशभर यो अभियान सञ्चालन गर्न थालिएको छ । 

सोमबार तनहुँमा १३ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । त्यस्तै आइतबार व्यास नगरपालिका–१ का ४९ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उहाँमा गत साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button