काभ्रेमा १ लाख ३८ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लामा १ लाख ३८ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा आइतबारसम्म १ लाख ३८ हजार ९ सय ५७ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कोरोना विरुद्धको खोप अभियान अन्तर्गतको कोभिसिल्ड खोप २३ हजार ९ सय ५० जनाले पहिलो र ९ हजार ७३ जनाले दोस्रो डोज खोप लगाइ सकेका छन् । ६८ हजार ६ सय १२ जनाले भेरोसिलको पहिलो डोज लगाइसकेका छन् भने १५ हजार ५ सय ३८ जनाले दोस्रो डोज लगाइसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनुभयो । उहाँका अनुसार जोन्सन एण्ड जोन्सन खोप भने २० हजार ८ सय २२ जनाले लगाई सकेका छन् ।
जिल्लामा झण्डै २ लाख ८० हजार भन्दा बढिलाई खोप लगाउनु पर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको १३ वटा स्थानीय तहहरूमा खोप गइसकेको र तेमाल, चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाका ४० वर्ष भन्दा माथिका नागरिकहरूलाई पूर्णरुपमा खोप लगाई सकेको स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनुभयो । त्यस्तै जिल्लाको पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकाको ४५ वर्षभन्दा माथिका नागरिकहरूलाई पूर्ण रुपमा खोप लगाइ सकेको स्वास्थ्य कार्यालय प्रमुख झाल बताउनुभयो ।
काभ्रेको १३ वटा स्थानीय तहमा पूर्णरुपमा खोप पुर्याई सकेको र अशक्त र अपाङ्गता भएकाहरूका लागि घरमा नै गएर कोरोना विरुद्धको खोप उपलब्ध गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्