तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमण रोकथामका लागि प्रभावकारी तयारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले कोभिड–१९ बाट सङ्क्रमितको निःशुल्क उपचार गर्न र कोरोना सङ्क्रमण रोकथामका लागि  प्रभावकारी तयारी गर्न सरकारलाई निर्देशन दिएको छ । 

समितिले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च तहका कर्मचारीहरूसँग कोभिड १९ र सोसँग सम्बन्धित विषयमा छलफल गरी यस्तो निर्देशन दिएको हो । 

समितिले कोरोना महामारीको दोस्रो लहरबाट बच्न परीक्षणको क्षमता बढाउँदै आइसियु भेण्टिलेटर र उपचारका लागि आवश्यक सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुका साथै कोरोना विरुद्धको खोपमा देखिएको अनियमितता छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन समेत दिएको छ । 

समितिले स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन स्वास्थ्य अनुसन्धानमा जोड पनि मन्त्रालयमार्फत सरकारलाई निर्देशन दिएको छ । 

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निर्देशक एवम् प्रवक्ता डा. कृष्णप्रसाद पौडेल आवश्यक जनशक्ति र साधन स्रोतका अभावका बावजुत पनि कोभिड महामारीबाट बच्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी गराउनुभयो ।

प्रवक्ता पौडेलले कोभिड विरुद्धको खोप हालसम्म ४२ लाख ९७ हजार ६ सय १२ जनाले पहिलो मात्रा र २० लाख ७४ हजार पूर्ण खोप प्राप्त गरेको जानकारी दिनुभयो । 

मन्त्रालयले आगामी ५ महिनामा कुल १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमति थपिने सम्भावना रहेको जनाएको छ । 

जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सधन उपचारको आवश्यकता पर्न सक्ने सम्भावना रहेको आँकलन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button